प्युठानको गौमुखी गाउँपालिका–५ का ६९ वर्षीय चिन्तामणि उपाध्यायको हत्या भएको छ । हत्या आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।पक्राउ पर्नेहरुमा गौमुखी गाउँपालिका–५ का ५१ वर्षीय लोकबहादुर गिरी र सोही ठाउँ बस्ने ५० वर्षीया जेदु कुमारी न्यौपाने छन् ।
उनीहरुलाई जिल्ला प्रहरी कार्यालय प्युठानका डीएसपी दीपेश बस्याल नेतृत्वको टोलीले पक्राउ गरेको हो ।१८ माघको बिहान साढे ८ बजेतिर गौमुखी गाउँपालिका–५ उपल्लो फुर्सेधारास्थित खुङ्ग–नारिकोट जोड्ने कच्ची भित्री सडकमा उपाध्याय मृत अवस्थामा फेला परेका थिए ।
मृत भेटिएको जानकारी पाउनासाथ जिल्ला प्रहरी कार्यालय प्युठानबाट डीएसपी बस्यालसहितको टोली घटनास्थल गएको थियो ।उपाध्यायको टाउको, अनुहार, नाक, मुखमा समेत गहिरो चोट देखिएपछि हत्याको आशंकामा अनुसन्धान अघि बढाउँदा २४ घण्टा नबित्दै हत्या आरोपितलाई पक्राउ गर्न सफल भएको डीएसपी बस्यालले अनलाइनखबरलाई बताए ।
अनुसन्धानका क्रममा गाउँकै लोकबहादुर र जेदु कुमारीले योजना बनाएर हत्या गरेको खुलेको प्रहरीका भनाइ छ । ‘फोनमार्फत जेदु कुमारीले उपाध्यायलाई बोलाएको र त्यसपछि दुई जना मिलेर हत्या गरेको पाइयो’ स्रोतले भन्यो, ‘उपाध्यायलाई उनीहरुले ढुंगा र बन्दुकको बटले हानेर हत्या गरेको खुलेको छ ।
’घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।