दिल्लीका गल्लीमा छुटेका छाया-BHITRAKOKHABAR-

0 Shares

एनएसडीमा मञ्चन भएको नाटक गच्छामिको एक दृश्य ।राष्ट्रिय नाट्य विद्यालय (नेसनल स्कुल अफ ड्रामा अर्थात् एनएसडी– सन् १९५९), नयाँदिल्लीमा घाम डुब्दै गरेका सुनौला साँझहरू, झमझम वर्षाका धुम्म र शिशिरका चिसा दिनहरूको सम्झना अझै आलै छ त्यहाँका पास–आउट, सुनील पोखरेल र अनुप बरालसँग । यी दुवै एनएसडीका ‘पास–आउट’ विद्यार्थी हुन्, जो फ्रेबुअरीको पारिलो दिन यही विद्यालयको अभिमञ्चमा बसेर अनमोल अतीत सम्झनामा मग्न–मग्न छन् ।

सुनील–अनुप नयाँदिल्ली पुगेका थिए– एनएसडीले आयोजना गरेको २५ औं भारत रंग महोत्सव– २०२५ मा नाटक ‘गच्छामि’ (आरोहण गुरुकुल– निर्देशक सुनील पोखरेल) र ‘कथा कस्तूरी’ (एक्टर्स स्टुडियो– निर्देशक दिया मास्के) को मञ्चनमा सहभागी हुन ।

एनएसडीमा चहलपहल विशेष छ । चारैतिर झिलिमिली छ– महोत्सव बोर्ड, रूखमा बेरिएका बत्तीले । महोत्सवको माहोल दर्शनीय छ । मञ्च, भवन, करिडोर, लवीमा टाँसिएका छन्– दर्जनौं रंगकर्मी र नाटकका जीवन्त तस्बिर । लाग्छ, यो कुनै भव्य आर्ट ग्यालरी हो । तर होइन, यो त नाट्यकर्मीहरूको महाकुम्भ हो, जहाँ सुनील–अनुपका आँखाका नानीमा एनएसडीका ती पुराना दिनहरू तैरिरहेका छन् ।

यी दुई नाट्यशिल्पीका विचारमा आफ्नो उमेर र समयको सबैभन्दा सुन्दर र आदर्शोन्मुख दैनिकी थियो– एनएसडी अध्ययन । ती सुनौला अतीत–कथासँग जोडिएका सब–प्लट सम्झनाहरू केही धमिला भए होलान् तर मुख्य–कथा तिनका स्मृतिको कोषखानामा अद्यापि धपक्क बलिरहेकै छ ।एनएसडी पढ्दाका ऋतुहरू अझै उनीहरूको मानसपटलमा ताजै छन् । ताता दिनमा पसिना चुहाउँदै गरिएका रिहर्सल, चिसा दिनमा कम्बलभित्र गुँडुल्किएर संवाद कण्ठ गर्ने अभ्यास, वर्षात्मा चिया पिउँदै मित्रहरूसँग गरिएका गम्भीर बहस— ती सबै अनुभवले उनीहरूलाई केवल कलाकार बनाएन, त्यस स्कुलमा सिकेका पाठहरूले जीवनको कोर्स नै बदलिदिए । दुवैको एनएसडी अनुभवको निचोड उही छ– ‘हाम्रो कार्यशैली र जीवन दृष्टिलाई यहाँ सिकेकै ज्ञानले अद्यापि प्रभावित पारिरहेको छ ।’

सम्बन्धित समाचारसबै