समृद्ध नेपाल सुखी नेपाली प्रधानमन्त्री केपी शर्मा ओलीले लिएको एकमात्र लक्ष्य हो । यो लक्ष्य पुरा गर्ने बाटोमा सरकारले काम गरिरहेको छ। नेपाललाई समृद्ध बनाउनका लागि हामीसँग धेरै सम्भावना र क्षेत्रहरू छन् ।
ती क्षेत्रहरू मध्ये सबैभन्दा सहज र सजिलै छोटो अवधिमा समृद्धि हासिल गर्ने भनेको ऊर्जाको विकासबाट नै हो । प्रकृतिले दिएको पानी र सौर्य ऊर्जालाई प्रयोग गरेर हामीले छिटै समृद्धि हासिल गर्न सक्छौँ । समृद्धि हासिल गर्न सकिएमा सुखी नेपाली हुन कसैले रोक्न सक्दैन ।
करिब ७ महिना अघि जब म मन्त्रालयमा मन्त्रीको जिम्मेवारीमा आएँ मैले यही बाटो समाएर काम अघि बढाएको छु । यो अवधिमा मैले केही निश्चित योजनाहरूलाई केन्द्रमा राखेर काम पनि अघि बढाएको छु, जसको नतिजा भावी दिनमा यही पुस्ताले देख्न पाउने छ।
आज म यो भन्दा फरक मात्र ऊर्जाबाट कसरी समृद्धि हासिल गर्न सक्छ भन्ने विषयमा मात्र चर्चा गर्दछु । हामीले पानीबाट ऊर्जा निकाल्न थालेको एक शताब्दी बितिसकेको छ तर हामी यसमा बिस्तारै प्रगति गर्दै आएका छौँ । विगत १२८ वर्षको कुरा गर्दा त्यतिबेला प्रविधि पनि थिएन ऊर्जा उत्पादनका लागि समय व्यतीत भइरहेको थियो । जब हामीले यो क्षेत्रमा निजी क्षेत्रलाई प्रवेश गरायौँ अनि बिस्तारै विकास र आकर्षण दुवै बढेको देखिन्छ । पछिल्लो आठ/दस वर्षभित्रै निजी क्षेत्रको सहभागितामा ३५ सय मेगावाट विद्युत् उत्पादन भएको छ । अहिले बनाउन सक्ने परियोजनाबारे अध्ययन भइसकेका छन्, पूर्वाधार तयार छन् । यी निर्माणाधिन आयोजनाहरूमा बाटोघाटो पुगिसकेको छ ।
अब चारदेखि पाँच वर्षमा ती आयोजना निर्माण भइसक्छन् । ठुला ठुला आयोजनालाई छ/सात वर्ष लाग्ला, अन्यथा चार वर्षभित्र आयोजना सम्पन्न हुने परिस्थिति देखिएको छ। यो हाम्रो समृद्धितिरको यात्रा हो । हिजो किन ढिलासुस्ती भयो भन्ने कुरा मन्त्रालयले पहिचान गर्न थालेको छ। हामीले यसका लागि ८१ बुँदे मार्गचित्र पनि सार्वजनिक गरेको छौँ । जुन मार्गचित्रले सबै कुरा प्रस्ट नै भनेको छ।
मार्गचित्रमा यसरी काम गर्न सकिन्छ भनेर मोडालिटी पनि तयार गरेका छौँ । लगानीको पक्ष स्वपुँजी, जनतालाई सहभागी गराउने, निजी क्षेत्र र अन्तर्राष्ट्रिय जगतलाई पनि आह्वान गरेर यो क्षेत्रको विकास गर्न सकिन्छ भनेर हामीले त्यसमा प्रस्ट उल्लेख गरेका छौँ । यो लक्ष्य प्राप्ति गर्दै गर्दा समृद्ध हुने बाटोतिर नेपाल अग्रसर हुने छ । अनि आफ्नो बजेट आफ्नै कमाइबाट बनाउने स्थितिमा नेपाल पुग्ने छ । यो अवस्थामा हामी समृद्ध नेपाली हुँदै सुखी नेपालीमा परिणत हुने छौँ ।
हामीलाई पूर्ण रूपले आत्मनिर्भर हुन एक/दुई वर्ष समय लाग्न सक्छ । वर्षायाममा जति निर्यात गरेका छौँ, सुक्खा मौसममा त्योभन्दा कम आयात गरेका छौँ । यसले पनि केही सन्तुलन गरेको छ । दीर्घकालीन समाधान होस् भनेर हामी जलाशययुक्त आयोजना गइरहेका छौँ । मन्त्रालयको प्राथमिकता पनि यसमा रहेको छ। त्यस्तै ऊर्जा सुरक्षालाई ध्यानमा राखेर पनि मन्त्रालयले काम गरिरहेको छ ।