होलीलाई मध्यनजर गर्दै उपत्यका प्रहरी कार्यालयले काठमाडौँ, भक्तपुर र ललितपुरमा होली लक्षित सुरक्षा योजना बनाएर लागु गरेको छ ।
बिहीबार बिहानैदेखि उपत्यकामा चेकजाँच सुरु गरिएको उपत्यका प्रहरी कार्यालयका एसएसपी शेखर खनालले बताए । उनका अनुसार ट्राफिक र स्थानीय प्रहरीले उपत्यकाको १ सय २१ ठाउँमा चेकजाँच गर्छन् ।
सवारीसाधन चलाउनेहरूले मादक पदार्थ सेवन गरेको र लागुपदार्थ सेवन गरेको चेकजाँच गरिने खनालले जानकारी दिए । उनले भने, ‘चालकले लागु पदार्थ सेवन गरेको बारे परीक्षण गर्न प्राविधिक सहितको टिम खटाउन निर्देशन दिएका छौँ ।’
लागु पदार्थ सेवन गरेको भेटिए मुद्दा चलाइने उपत्यका प्रहरी कार्यालयका प्रवक्ता खनालले बताए । ३ वटा जिल्लाका १५५ ठाउँमा पिकेट ड्युटीका लागी प्रहरी परिचालन गर्ने गरी सुरक्षा योजना लागु गरिएको छ ।
पिकेट ड्युटीमा खटिने प्रहरीले आफ्नो क्षेत्रमा हुनसक्ने अवाञ्छित गतिविधिबारे निगरानी र गस्ती गर्छन् । दुईपांग्रे सवारी चालकले हेलमेट नलगाएको र ३ जना चढेको भेटिए कारबाही गरिने प्रहरीको योजना छ ।
बिहीबार बिहानैबाट चेकजाँच सुरु गरिने जानकारी दिँदै खनालले भने, ‘ओभर स्पिडमा सवारी चलाएमा र क्षमता भन्दा धेरै यात्रु बसेमा कानुनी कारबाही हुन्छ ।’



