अन्तरिक्षमा महिनौँ देखि अलपत्र दुई अन्तरिक्ष यात्रीलाई फिर्ता ल्याउन स्पेसएक्सको रकेट प्रक्षेप ण-BHITRAKOKHABAR-

0 Shares

स्पेसएक्सले अन्तरिक्षयात्री सुनीता विलिअम्स र ब्यारी विल्मोरलाई फिर्ता ल्याउने योजना सहित अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्र ‘आईएसएस’मा नयाँ अन्तरिक्षयात्री बोकेको रकेट प्रक्षेपण गरेको छ।

उक्त जोडी आठ दिनका लागि मात्र आईएसएसमा रहनु पर्ने थियो।

तर परीक्षणमा रहेको अन्तरिक्षयानमा आएको प्राविधिक समस्याका कारण उनीहरू विगत ९ महिनाभन्दा लामो समयदेखि त्यहाँ रहेका छन्।नयाँ अन्तरिक्षयात्री त्यहाँ पुगेको दुई दिनपछि उनीहरूले पृथ्वीतर्फ आफ्नो यात्रा सुरु गर्ने छन्।

नासाका ‘कमर्शिअल क्रू’ कार्यक्रमका प्रबन्धक स्टिभ स्टिचले पछिल्लो सम्भावनाप्रति खुसी व्यक्त गरेका छन्।

“बुच र सुनीले राम्रो काम गरेका छन् र हामी उनीहरूलाई फिर्ता ल्याउन उत्साहित छौँ,” उनले भने।

टोली परिवर्तन

नयाँ टोली पुगेपछि ती दुई अन्तरिक्ष यात्रीसहित आईएसएसमा रहेका उनीहरूका सहकर्मीहरू नासाका निक हेग र रोसकोस्मोस कोस्मोनट (रुसी अन्तरिक्षयात्री) अलेक्जान्डर गोर्बनोभले राहत पाउने छन्।

ती सबैलाई रुस र जापानका एक/एक तथा अमेरिकाका दुई गरी चार नयाँ अन्तरिक्षयात्रीले प्रतिस्थापन गर्नेछन्।

पुराना अन्तरिक्षयात्रीले नयाँ सहकर्मीलाई दुई दिनमा सबै कामको हस्तान्तरण गर्नेछन् र पुरानो दलका अन्तरिक्षयात्रीले पृथ्वीतर्फ आफ्नो यात्रा सुरु गर्नेछन्।

आईएसएसका कार्यक्रमका प्रबन्धक डाना वाइगलका अनुसार पृथ्वीतर्फ फर्कने क्याप्सुलमा सुरक्षित रूपमा प्रवेश गर्नका लागि उपयुक्त अवस्था पर्खनु पर्ने भएकाले त्यसमा थप केही ढिलो पनि हुन सक्छ।

“मौसमले सधैँ साथ दिनुपर्छ त्यसैले यदि अनुकूल भएन भने हामी थप समय पनि लगाउँछौँ” उनले सञ्चारकर्मीहरूलाई भनिन्।

उनका अनुसार अन्तरिक्षयात्रीहरूले गत सातादेखि हस्तान्तरणको तयारी थालेका छन्।

“सुनीले अन्तरिक्षयात्री अलेक्सी ओभचिननलाई कमान्ड सुम्पिँदा बुचले औपचारिक घण्टी बजाए,” उनले भनिन्।

सम्बन्धित समाचारसबै