सगरमाथा शिखरबाट सामाजिक सञ्जालमा ‘लाइभ स्ट्रीमिङ’, अनधिकृत इन्टरनेटको नियमनमा चुनौती

0 Shares

काठमाडौँ – मे २३ मा १५औँ पटक सगरमाथा आरोहण गरेका अमेरिकी पर्वतारोही ग्यारेट म्याडिसनले चुचुरोबाटै अर्का पर्वतारोही एलन अर्नेटलाई प्रत्यक्ष भिडिओ अन्तर्वार्ता दिए।

उक्त अन्तर्वार्ता एलनअर्नेट डट कममा प्रकाशित छ।

अन्य आरोहीहरूले समेत आधार शिविरभन्दा माथिका क्याम्पहरूमा इन्टरनेटको पहुँच प्राप्त गर्नुका साथै शिखरबाटै सामाजिक सञ्जालहरूमा ‘लाइभ स्ट्रीम’ गर्ने गरेको पाइन्छ।

सगरमाथा आधार शिविरबाट माथि लागेपछि नेपाली आधिकारिक इन्टरनेट प्रदायक कम्पनीहरूका सेवा उपलब्ध छैनन्।

सगरमाथाको उचाइ सर्वेक्षणका क्रममा लामो समय उक्त क्षेत्रमा बिताएका सर्भेयर तथा ‘पन्ध्रौँ चुली’ नामक पुस्तकका लेखक खिमलाल गौतम “आधार शिविरसम्म मात्रै स्थानीय प्रदायकका सेवा उपलब्ध रहेको” बताउँछन्।

“त्यहाँभन्दा माथि पनि आरोहीहरूले इन्टरनेट प्रयोग गरेको देखिन्छ,” उनले भने, “त्यहाँ उपलब्ध सेवा र उपकरणहरू नियामक निकायको दायरामा भएजस्तो लाग्दैन।”

बीबीसीले सम्पर्क गरेका अधिकांश आरोहीहरूले आधार शिविरभन्दा माथि उपलब्ध हुने इन्टरनेट स्याटलाइटमा आधारित रहेको बताए। जानकारहरू त्यस्ता सेवा “अनधिकृत भएको” र “सरकारको निगरानी वा दायरामा नभएको” बताउँछन्।

नेपाल सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले त्यसबारे अनभिज्ञता जनाउँदै “त्यस्तो कार्य भइरहेको भए तत्काल रोकिनुपर्ने” बताए।

सम्बन्धित समाचारसबै