काठमाडौँ — बिलिङ प्रणाली खरिदमा भ्रष्टाचार गरेको अभियोगमा नेपाल टेलिकमका बहालवाला र पूर्वप्रबन्ध निर्देशकसहित १७ व्यक्ति र एक कम्पनीविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।
प्रबन्ध निर्देशक संगीता पहाडी, पूर्वप्रबन्ध निर्देशक सुनील पौडेल तथा खरिद प्रक्रियामा संलग्न अन्य कर्मचारी र ठेकेदारलाई प्रतिवादी बनाएर अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आइतबार विशेष अदालतमा मुद्दा चलाएको हो ।
अख्तियारले पहाडी र पौडेलका अलावा तत्कालीन प्रमुख प्राविधिक अधिकृत प्रतिमा वैद्य भनिने प्रतिमा श्रेष्ठ, तत्कालीन प्रमुख वित्तीय अधिकृत राजेन्द्र श्रेष्ठ, तत्कालीन प्रमुख सञ्चालन अधिकृत झवीन्द्रलाल उपाध्याय, तत्कालीन निर्देशक विनिता श्रेष्ठ, तत्कालीन निमित्त निर्देशक अमूल प्रधान, तत्कालीन प्रबन्धक देवेन्द्र खतिवडालाई प्रतिवादी बनाएको छ । तत्कालीन उपप्रबन्धकहरू राजीवकुमार केसी, सन्तोषकुमार श्रेष्ठ, नवल चौधरी, मुक्तिप्रसाद अर्याल, हेमप्रभा कर्ण भनिने हेमप्रभा रामप्रताप कर्ण र परमात्मा भट्टराईविरुद्ध पनि मुद्दा दायर गरिएको छ ।
अख्तियारका प्रवक्ता राजेन्द्रकुमार पौडेलका अनुसार ३३ करोड ४८ लाख १७ हजार ४ सय ३० रुपैयाँ बिगो कायम गरी उनीहरू चौध जनाविरुद्ध नै बिगोबमोजिम जरिवाना तथा हानिनोक्सानी भइसकेको ९ करोड ८८ लाख ४१ हजार ९ सय ५६ रुपैयाँ असुलउपर गर्न मागदाबीसहित अभियोगपत्र दायर गरिएको छ । मुख्य कसुरदारको अभियोग लगाइएका उनीहरू सबैलाई १० देखि १४ वर्षसम्मका दरले कैद सजाय हुनुपर्ने अख्तियारको मागदाबी छ ।
टेलिकमका पदाधिकारी तथा कर्मचारीसँगको मिलेमतोमा ठेक्का हत्याएको अभियोगमा ठेकेदार कम्पनी र त्यसका सञ्चालकविरुद्ध पनि मुख्य कसुरदारसरह नै सजाय मागदाबी गरिएको छ । मिलेमतोमा खरिद हत्याएको अभियोगमा अख्तियारले चिनियाँ कम्पनी एसियन इन्फो युङहाङ सफ्टवेयर (बेइजिङ) लिमिटेड (साबिक एसियन इन्फो लिंकेज टेक्नोलोजिज इन्क) र त्यसका वरिष्ठ निर्देशक लोङ योङ र कलर रिङब्याक टोन (सीआरबीटी) को प्रोजेक्ट अफिस काठमाडौंका तत्कालीन सञ्चालन/ परियोजना प्रबन्धक हुआङ विई र ठेकेदार कम्पनीका नेपाल प्रतिनिधि अरनिको इन्टरनेसनल प्रालिका निर्देशक शैलेस श्रेष्ठलाई मतियारका रूपमा प्रतिवादी बनाएको हो ।
बिलिङमा भएको अनियमिततामा अख्तियारले टेलिकमका तत्कालीन सञ्चालक समिति अध्यक्ष एवं सञ्चार सचिव रहेका बैकुण्ठ अर्याल (पछि मुख्यसचिवबाट अवकाश) र हरिप्रसाद बस्याल लगायतमाथि पनि अनुसन्धान गरेको थियो ।