सिरहा — फलको राजाको रुपमा चिनिने फल आँपको प्रतीक्षाको घडी समाप्त हुँदैछ । अर्थात्, मधेशमा आँप तयार भइसकेको छ । आइतबार बिहान लहानस्थित बगैंचामा मजदुर लगाएर आँप टिपिरहेका भेटिए, स्थानीय नागेन्द्र प्रधान ।
प्रधानका अनुसार, उनले दुई दिनदेखि आँप टिपिरहेका हुन् । उनीजस्तै सबैतिरका कृषक तथा व्यापारी अब यसैगरी आँप टिप्न सुरु गरेका छन् । अहिले खासगरी मालदह, सिपीया, दशहरी, फजिली, जर्दालुलगायतका आँप खानयोग्य भएका छन् । तर, यी आँप अझ परिपक्क हुन थप एक साता लाग्छ ।

बम्बै, कृष्णभोग, चौसा, निलम, चौरिया र गुलाबलगायतका आँप सबैभन्दा छिटो पाक्ने आँप हुन् । कम मात्रामा उत्पादन हुने यी आँप केही समयअघि मात्रै बजारमा गएको छ । मालदह, सिपीया, दशहरी, फजिली, जर्दालुलगायत जातका आँप मध्यम जातको रुपमा पर्दछन् ।
कलकतिया र भदैयालगायतका ढिलो पाक्ने आँप हुन्, जुन असारपछि तयार भएर बजारमा जान्छ । हुन त अढाइ तीन महिना पहिल्यैदेखि बजारमा आँप छ्याप्छ्याप्ती छन् । तर, ती आँप प्राकृतिक ढंगले आफैं तयार भएका शुद्ध आँप भने होइनन् ।