देशभर आज काग तिहार मनाइँदै, यमराजका दूत कागको पूजा आराधना

0 Shares

काठमाडौं । आज देशभर तिहारको पहिलो दिन अर्थात् काग तिहार मनाइँदै छ । पाँच दिनसम्म मनाइने तिहार पर्वको पहिलो दिन पर्ने काग तिहार आज कार्तिक कृष्ण त्रयोदशीको सूर्योदय बेला परेकोले शास्त्रसम्मत रूपमा मनाइँदै छ ।

वैदिक सनातन हिन्दु परम्परा अनुसार कागलाई यमराजको सन्देशवाहक (दूत) का रूपमा पूजा गर्ने चलन छ । नेपाली समाजमा अझै पनि ‘काग करायो भने पाहुना आउँछ’ भन्ने जनविश्वास गहिरो रूपमा पाइन्छ ।

आजको दिन बिहानै उठेर घर वरिपरिका कागलाई आदरपूर्वक पूजा गरेर दही, भात र मिठा परिकार अर्पण गर्ने परम्परा छ । ‘काकेन दधि भक्षितम्’ अर्थात् कागलाई दही भात खुवाउँदा उसले यमराज समक्ष शुभ सन्देश पुर्‍याउँछ भन्ने धार्मिक विश्वास रहेको छ । कागलाई अर्पण नगरी आफूले खाएमा पाप लाग्छ भन्ने जनविश्वास पनि छ ।

यो पर्वले धार्मिक दृष्टिले मात्र नभई मानव र जनावरबीचको आत्मीय सम्बन्ध, पक्षीप्रतिको कृतज्ञता र प्रकृतिप्रतिको सम्मान को सन्देश पनि दिन्छ । धर्मशास्त्र अनुसार यमराजले पृथ्वीमा रहेका सबै जीवहरूको जन्म–मृत्युको लेखा राख्ने र सो सन्देश ल्याउने जिम्मा कागलाई दिएको मान्यता आज पनि जीवित छ ।

त्यसैगरी राजधानीको कागेश्वरी मनोहरा महादेव मन्दिरमा विशेष पूजा–आराधना भइरहेको छ । हनुमानढोकास्थित कागेश्वरी मन्दिरमा पनि आज बिहानैदेखि भक्तजनको भीड लागेको छ ।

तिहारको पहिलो दिन काग तिहारसँगै भोलि कुकुर तिहार, त्यसपछिका दिनहरूमा लक्ष्मी पूजा, गोवर्धन पूजा र भाइटीका गरी पाँच दिनसम्म तिहार पर्व हर्षोल्लासपूर्वक मनाइने परम्परा छ ।

सम्बन्धित समाचारसबै