भक्तपुर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा लोकतन्त्र अजेय रहेको बताएका छन् । शनिबार भक्तपुरमा आयोजित पार्टीको ११औँ महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले विभिन्न प्रहारका बाबजुद लोकतन्त्र र एमाले अविचलित रहेको बताएका हुन् ।
सम्बोधनका क्रममा अध्यक्ष ओलीले तीन महिनाअघि भदौ २३ र २४ गते भएका घटनाहरूलाई देशका आधार स्तम्भमाथिको प्रहारका रूपमा चित्रण गरे । उनले देश युद्धभूमिजस्तै जलिरहेको ती दिनहरूलाई कहालीलाग्दा भन्दै स्मरण गरे ।
‘सम्झिइरहेको छु, तीन महिना अगाडिका ती कहालीलाग्दा दिनहरू । जतिबेला देश युद्धभूमिजस्तै जलिरहेको थियो । आततायीहरूबाट जलाइरहेको थियो,’ ओलीले भने, ‘जतिबेला संविधान, लोकतन्त्र र यसका आधार स्तम्भ राजनीतिक दलहरूमाथि भीषण हमला गरिएको थियो ।’
अध्यक्ष ओलीले पुराना राजनीतिक दलहरूविरुद्ध गलत भाष्य निर्माण गर्न खोजिएको आरोप समेत लगाए । उनले भने, ‘एउटा भाष्य निर्माण गर्ने कोसिस भइरहेको थियो – पुराना पार्टीहरू सकिए, पुराना नेताका दिन गए र एमालेको सान्दर्भिकता समाप्त भयो । यस्तो गलत भाष्य खडा गर्न खोजिएको थियो । ’
पार्टीविरुद्ध चौतर्फी प्रहार भइरहँदा पनि नेता, कार्यकर्ता, शुभेच्छुक र जनता एमालेको साथमा उभिएको भन्दै उनले महाधिवेशनमा उर्लिएको जनसागरले त्यसलाई पुष्टि गरेको दाबी गरे । ‘धुँवा, खरानी र निषेधका प्रत्येक प्रहारलाई चिर्दै यो जनसागर ओर्लिएको छ,’ उनले भने, ‘म ढुक्कका साथ भन्छु– लोकतन्त्र अजेय छ, नेकपा एमाले अजम्बरी छ ।’