निर्वाचन प्रचारमा सवारीसाधन प्रयोगमा कडाइ, अनुमति बिना चलाउन नपाइने

0 Shares

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले प्रस्तावित आचारसंहिता सार्वजनिक गरेको छ। आचारसंहिताअनुसार कुनै पनि उम्मेदवारले आयोगको अनुमति नलिई सवारीसाधन प्रयोग गर्न नपाउने भएका छन् ।

अनुमति प्राप्त सवारीसाधनबाहेक अन्य सवारी प्रयोग गरी प्रचारप्रसार वा प्रचार सामग्री प्रदर्शन गर्न रोक लगाइएको छ। अनुमति बिना सवारी प्रयोग गरेको पाइएमा ट्राफिक प्रहरी वा सुरक्षाकर्मीले त्यस्ता सवारी नियन्त्रणमा लिई कारबाही गर्ने व्यवस्था प्रस्तावित भएको छ।

आचारसंहिताअनुसार निर्वाचन अधिकृतको अनुमति लिएर उम्मेदवारले बढीमा दुईवटा दुईपाङ्ग्रे, तीनपाङ्ग्रे वा चारपाङ्ग्रे सवारीसाधन प्रयोग गर्न सक्नेछन्। भने सवारी नचल्ने स्थानमा चारवटा सम्म घोडा प्रयोग गर्न सकिने छ।

विदेशी नम्बर प्लेटका सवारीसाधन प्रयोग गर्न पूर्ण रूपमा निषेध गरिएको छ। साथै, सवारीसाधनको स्वरूप परिवर्तन गरी प्रयोग गर्न वा अनुमति प्राप्त सवारी अन्य उम्मेदवार वा दललाई प्रयोग गर्न दिन पनि पाइने छैन।

प्रस्तावित आचारसंहिताले मतदाता ओसारपसारका लागि सवारीसाधन प्रयोग गर्न रोक लगाएको छ। तर गर्भवती महिला, सुत्केरी, अपाङ्गता भएका व्यक्ति, ज्येष्ठ नागरिकजस्ता मतदाताका हकमा निर्वाचन अधिकृतले अनुमति दिएमा सवारी प्रयोग गर्न बाधा नपर्ने भएको छ ।

राजनीतिक दलले प्रचारप्रसारका लागि मुख्य प्रचारकको नाम आयोगमा बुझाउनुपर्ने र अनुमति प्राप्त मुख्य प्रचारकले मात्र हेलिकप्टर प्रयोग गर्न पाउने व्यवस्था गरिएको छ।

सम्बन्धित समाचारसबै