जेनजी समूहको प्रदर्शन रोक्न माइतीघरमा कडा सुरक्षा

0 Shares

काठमाडौं । सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै ‘जेनजी’ समूहले सोमबार माइतीघर मण्डलामा प्रदर्शन गर्ने घोषणा गरेपछि प्रहरीले सुरक्षा सतर्कता बढाएको छ । ‘गरिखान देऊ’ अभियानका संयोजक मिराज ढुंगानाको नेतृत्वमा बिहान ११ बजे प्रदर्शन हुने जानकारीपछि सो क्षेत्रमा ठूलो सङ्ख्यामा प्रहरी तैनाथ गरिएको हो ।

प्रदर्शनकारीहरू जम्मा हुन थालेपछि प्रहरीले माइकिङमार्फत भीडलाई तितरबितर हुन आग्रह गरेको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंको अनुमति नलिई कुनै पनि सभा वा प्रदर्शन गर्न नपाइने भन्दै प्रहरीले सहभागीहरूलाई आ–आफ्नो गन्तव्यतर्फ फर्कन अनुरोध गरेको छ ।

प्रहरीका अनुसार अनुमति बिना कार्यक्रम गर्न खोजिएमा कानुनी कारबाही हुन सक्ने चेतावनीसमेत दिएको छ ।

‘जेनजी’ समूहले वर्तमान सरकारले युवा पुस्ताको आवाज नसुनेको आरोप लगाउँदै १० बुँदे मागसहित आन्दोलन सुरु गरेको हो । आइतबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरिएका मागहरूमा सुशीला कार्की नेतृत्वको सरकारको १०० दिने कार्यकाल असफल भएको दाबी गरिएको छ ।

प्रदर्शनकारीहरूको मुख्य माग वर्तमान सरकारको विकल्पमा सर्वपक्षीय सरकार गठन हो । उनीहरूले देशको शासकीय संरचनामा परिवर्तन आवश्यक रहेको बताउँदै गोलमेच सम्मेलन वा संविधान परिमार्जन सभामार्फत संविधान पुनर्लेखन गर्नुपर्ने माग गरेका छन् ।

यसैगरी, आन्दोलनका क्रममा पक्राउ परेका युवामाथिका मुद्दा खारेज गरी तत्काल रिहा गर्नुपर्ने, दमनमा संलग्नलाई कारबाही गर्नुपर्ने तथा शक्तिशाली भ्रष्टाचार निर्मूल आयोग गठन गर्नुपर्ने माग पनि उठाइएको छ ।

समूहले न्यायालयका फैसला प्रत्यक्ष प्रसारण गर्नुपर्ने, विदेशमा रहेका नेपालीलाई मताधिकार दिनुपर्ने तथा ‘एकपटकको नेपाली, सधैंको नेपाली’ नीति कार्यान्वयन गर्नुपर्ने माग अघि सारेको छ ।

त्यस्तै, मिटरब्याज पीडित, सहकारी पीडित र उखु किसानका समस्या तत्काल समाधान गर्नुपर्ने विषय पनि आन्दोलनको एजेन्डामा समेटिएको छ ।

सम्बन्धित समाचारसबै