सरकार असंवैधानिक भएको आरोप, एमाले कोशी प्रदेशद्वारा आन्दोलनको घोषणा

0 Shares

विराटनगर । नेकपा (एमाले) कोशी प्रदेश कमिटीले वर्तमान सरकारका गतिविधिहरूलाई असंवैधानिक र प्रतिगमनकारी ठहर गर्दै सशक्त आन्दोलन गर्ने घोषणा गरेको छ । मंगलबनर विराटनगरमा आयोजित पत्रकार सम्मेलनमार्फत प्रदेश कमिटीले यस्तो निर्णय सार्वजनिक गरेको हो ।

प्रदेश अध्यक्ष घनश्याम खतिवडाद्वारा जारी विज्ञप्तिमा सरकारले राजनीतिक प्रतिशोध साँध्ने उद्देश्यले कदम चालिरहेको आरोप लगाइएको छ । विज्ञप्तिअनुसार, त्यसको विरोधमा कोशी प्रदेशका सबै १४ वटै जिल्लामा शान्तिपूर्ण प्रदर्शन र विरोध कार्यक्रम सञ्चालन गरिनेछ ।

एमालेले भर्खरै सम्पन्न ११औँ राष्ट्रिय महाधिवेशनबाट केपी शर्मा ओलीको नेतृत्वमा नयाँ केन्द्रीय कमिटी चयन भएको उल्लेख गर्दै, सो सफलताबाट डराएर सरकारले षडयन्त्र गरिरहेको दाबी गरेको छ । विज्ञप्तिमा पूर्व प्रधानमन्त्री ओलीलाई कथित छानबिन आयोगका नाममा अनावश्यक दुःख दिई देशलाई द्वन्द्वतर्फ धकेल्ने प्रयास भइरहेको आरोप लगाइएको छ ।

पार्टीले २०८२ भदौ २३ र २४ गते भएका घटनालाई स्मरण गर्दै जननिर्वाचित सरकारलाई अपदस्त गरी असंवैधानिक सरकार गठन गरिएको बताएको छ । यसले लोकतन्त्र र संविधानमाथि गम्भीर प्रहार गरेको एमालेको ठहर छ ।

लोकतन्त्र र संविधानको रक्षाका लागि प्रतिनिधिसभाको पुनःस्थापना, सर्वपक्षीय सरकार गठन, संविधान संशोधन तथा ताजा जनादेशको मागलाई एमालेले फेरि दोहोर्‍याएको छ ।

विज्ञप्तिमा कोशी प्रदेशका सबै जिल्ला कमिटीहरूलाई शान्तिपूर्ण खबरदारी प्रदर्शन, सद्भाव र्‍याली तथा विभिन्न विरोध कार्यक्रम सञ्चालन गर्न निर्देशन दिइएको छ । साथै, सरकारबाट हुने कुनै पनि प्रकारका धरपकड, दमन र प्रतिशोधपूर्ण गतिविधि सहन नसकिने चेतावनी दिँदै कडा प्रतिवाद गरिने स्पष्ट पारिएको छ ।

एमालेले यो आन्दोलन केवल पार्टीगत नभई लोकतन्त्र र संविधानको रक्षाका लागि भएको भन्दै सबै लोकतन्त्रप्रेमी राजनीतिक दल, बौद्धिक वर्ग, नागरिक समाज, मानवअधिकारकर्मी, उद्योगी, व्यवसायी, युवा र विद्यार्थीहरूलाई आन्दोलनमा ऐक्यबद्ध हुन अपिल गरेको छ ।

सम्बन्धित समाचारसबै