विराटनगर । पूर्वउपप्रधानमन्त्री तथा गृहमन्त्री बद्रीप्रसाद मण्डलको ८८ वर्षको उमेरमा मंगलबार बिहान निधन भएको छ । विराटनगर महानगरपालिका–९ स्थित आफ्नै निवासमा अचानक स्वास्थ्य समस्या आएपछि उनको मृत्यु भएको पारिवारिक स्रोतले जनाएको छ ।
पारिवारिक सदस्य जस्मिन मण्डलका अनुसार बिहान एकाएक स्वास्थ्य बिग्रिएलगत्तै उनको निधन भएको हो । अन्त्येष्टिका लागि उनको शव जहँदा गाउँपालिकास्थित मझारेमा रहेको पुर्ख्यौली घर लगिएको छ ।
मण्डल राजतन्त्र र हिन्दुत्वका पक्षधर नेता थिए । २०४६ सालअघि उनी राजतन्त्रको समर्थनमा सक्रिय थिए । प्रजातन्त्र स्थापना भएपछि उनले नेपाल सद्भावना पार्टीको नेतृत्व सम्हाले । गजेन्द्र नारायण सिंहको निधनपछि मण्डल सद्भावना पार्टीका अध्यक्ष बनेका थिए ।
पछि उनी पूर्वराजा ज्ञानेन्द्र शाहको साथमा शाहीकालीन सरकारमा उपप्रधानमन्त्री समेत बने । २०४६ सालअघि विराटनगरका प्रभावशाली नेतामध्ये उनी एक मानिन्थे ।
राजनीतिक यात्रामा उनी केही समय नेपाली कांग्रेसमा पनि आबद्ध भए । विभिन्न दल हुँदै पुनः राजावादी धारमा फर्किएका मण्डल पछि राजेन्द्र महतो नेतृत्वको सद्भावना पार्टीमा वरिष्ठ नेता बनेका थिए ।
मण्डलका दुई श्रीमती, चार छोरा र तीन छोरी छन् । परिवारका अनुसार चार छोरामध्ये एक जनाको यसअघि नै निधन भइसकेको छ ।