हुस्सु, कुहिरो र सम्भावित शीतलहरको जोखिमलाई ध्यानमा राख्दै प्राधिकरणले सम्बन्धित सबै निकायलाई पूर्वतयारी र प्रतिकार्यमा जुट्न निर्देशन दिएको हो। यसका लागि प्राधिकरणले ‘शीतलहर पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना, २०८२’ तयार गरी संघीय मन्त्रालय, प्रदेश सरकार र स्थानीय तहमा पठाइसकेको जनाएको छ।
कार्ययोजना अनुसार आ–आफ्नो जिम्मेवारी पूरा गर्न संघ, प्रदेश र पालिकालाई आग्रह गरिएको छ। यदि स्थानीय तह र जिल्ला विपद् व्यवस्थापन समितिको प्रयासले मात्र समस्या समाधान हुन नसकेमा प्रदेश र संघ सरकारसँग सहयोग माग्न पनि अनुरोध गरिएको छ।
प्राधिकरणले विज्ञप्तिमार्फत विपन्न तथा जोखिममा रहेका परिवारलाई न्यानो लुगा र आवश्यक सामग्री वितरण गर्न, शीतलहरबाट जोगिनेबारे सूचना प्रवाह र सचेतना कार्यक्रम सञ्चालन गर्न आग्रह गरेको छ। साथै, जोखिममा परेका व्यक्तिका लागि सार्वजनिक भवन, मठमन्दिर वा घरमै न्यानो भएर बस्ने व्यवस्था मिलाउन र दाउरा तथा अन्य आवश्यक उपायको प्रबन्ध गर्न पनि भनिएको छ।
यसैबीच, जल तथा मौसम विज्ञान विभागले तराईका अधिकांश ठाउँमा लागेको बाक्लो हुस्सु र कुहिरो अझै कम्तीमा तीन दिनसम्म कायम रहने जनाएको छ। हुस्सु र कुहिरोका कारण जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने भएकाले आवश्यक सावधानी अपनाउन विभागले सबैलाई अनुरोध गरेको छ।
यस्तो अवस्थामा न्यानो कपडा लगाएर बस्न, तातो झोलिलो खानेकुरा खान र चिसोबाट जोगिने उपाय अपनाउन सुझाव दिइएको छ।