विराटनगर । गृहमन्त्री ओमप्रकाश अर्यालले लोकतन्त्रको रक्षा र शासन व्यवस्थालाई वैधानिक बनाउन निर्वाचन अनिवार्य भएको बताएका छन्।
बुधबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित प्रदेशस्तरीय सुरक्षा गोष्ठीको उद्घाटन गर्दै उनले सरकारले तोकिएको मितिमै स्वच्छ, निष्पक्ष र धाँधलीरहित निर्वाचन गराउन प्रतिबद्ध रहेको स्पष्ट पारे। उक्त गोष्ठी गृह मन्त्रालय र कर्णाली प्रदेश सरकारको संयुक्त आयोजनामा सम्पन्न भएको हो।
गृहमन्त्री अर्यालले जेन–जी जनआन्दोलनको स्मरण गर्दै नयाँ पुस्तालाई राजनीतिमा समेट्नुपर्ने आवश्यकता औँल्याए। उनले सुशासन दिन नसक्दा असन्तोष र विद्रोहको अवस्था सिर्जना हुने कुरा जेन–जी आन्दोलनले देखाएको बताए।
“युवा पुस्तालाई बेवास्ता गरेर वा उनीहरूका जायज मागलाई ‘बाइपास’ गरेर अब अघि बढ्न सकिँदैन,” उनले भने।
उनका अनुसार आवधिक निर्वाचन नै सुशासनको मुख्य आधार हो। ताजा जनादेशबाट बनेको सरकारले मात्र प्रभावकारी रूपमा काम गर्न सक्ने उनको भनाइ थियो।