विराटनगर । अर्थमन्त्री रामेश्वर खनालले वर्तमान सरकारसँग असीमित अधिकार नभएको भन्दै अध्यादेशको भरमा शासन चलाउने प्रवृत्तिप्रति असन्तुष्टि जनाएका छन् । संसद् नचलेको अवस्थामा कानुन बनाउने अभ्यास लोकतन्त्रका लागि राम्रो नहुने उनको भनाइ छ ।
विराट ट्रेड एक्स्पो–२०२५ को उद्घाटन समारोहमा बोल्दै मन्त्री खनालले संसद्को भूमिका कमजोर पारेर शासन सञ्चालन गर्नु लोकतान्त्रिक मूल्यविपरीत हुने स्पष्ट पारे । उनले अध्यादेशलाई विकल्प होइन, बाध्यताको रूपमा मात्र प्रयोग गर्नुपर्ने बताए ।
आर्थिक कठिनाइका बाबजुद निजी क्षेत्रले देखाएको धैर्यताको प्रशंसा गर्दै मन्त्री खनालले व्यवसायीहरू आफैँ सक्रिय भएर अघि बढ्नु अर्थतन्त्रका लागि सकारात्मक संकेत भएको उल्लेख गरे । सीमित अधिकार र संस्थागत कमजोरी हुँदाहुँदै पनि सरकार निजी क्षेत्रको विश्वास जित्न प्रयत्नशील रहने उनले बताए ।
पूर्वी नेपालको पर्यटन सम्भावनाबारे आफ्ना अनुभव सुनाउँदै मन्त्री खनालले १६ वटै जिल्ला पैदल यात्रा गरेको स्मरण गरे । यहाँको प्राकृतिक सौन्दर्य र भौगोलिक विविधता पर्यटन र लगानीका लागि ठूलो अवसर भएको उनको भनाइ छ ।
अन्त्यमा उनले अर्थ मन्त्रालय र राष्ट्र बैंकबीच नीतिगत समन्वय आवश्यक रहेको बताउँदै त्यस्तो तालमेलबाट मात्रै निजी क्षेत्रले वास्तविक राहत र आत्मविश्वास पाउने बताए ।