विराटनगर । आज विश्वभरका क्रिश्चियन धर्मावलम्बीहरूले क्रिसमस डे उल्लासपूर्वक मनाइरहेका छन्। इसाई धर्मका संस्थापक येशु ख्रीष्टको जन्मदिनको सम्झनामा प्रत्येक वर्ष डिसेम्बर २५ का दिन यो पर्व मनाइन्छ। विश्वासअनुसार आजभन्दा करिब दुई हजार २५ वर्षअघि इजरायलको वेथलेहेममा येशु ख्रीष्टको जन्म भएको थियो।
नेपाल ख्रिष्टियन महासङ्घका अध्यक्ष सिबी गहतराजका अनुसार येशु ख्रीष्टले मानवजातिलाई तीन महत्वपूर्ण सन्देश—मुक्ति, प्रेम र शान्ति—दिएका छन्। यही विश्वासका कारण क्रिश्चियन समुदायले क्रिसमसलाई प्रेम दिवस, शान्ति दिवस र मुक्ति दिवसका रूपमा मनाउने परम्परा विकास गरेको हो।
मानिसप्रति प्रेम फैलाउन, समाजमा शान्ति स्थापना गर्न र मानवलाई मुक्ति दिन येशु ख्रीष्ट पृथ्वीमा आएको विश्वास क्रिश्चियन समुदायमा गहिरो रूपमा रहेको अध्यक्ष गहतराजले बताए। नेपालमा भने विसं २०६३ पछि महासङ्घले क्रिसमसलाई महोत्सवकै रूपमा मनाउन थालेको उनले जानकारी दिए।
आज महासङ्घ मूल समारोह समितिको आयोजनामा दिउँसो ‘क्रिसमस महोत्सव–२०८२’ आयोजना हुँदैछ। महोत्सवमा सरकारका प्रतिनिधि, विभिन्न सरोकारवाला निकायका अधिकारी, मानव अधिकारकर्मी तथा विशिष्ट व्यक्तिहरूको सहभागिता रहने जनाइएको छ।
क्रिसमसको अवसरमा नेपालमा सार्वजनिक बिदाको व्यवस्था समयक्रममा फेरिँदै आएको छ। विसं २०६३ देखि २०७४ सम्म सबैका लागि सार्वजनिक बिदा दिइएको थियो भने २०७५ देखि २०७७ सम्म क्रिश्चियन धर्मावलम्बीलाई मात्र बिदा दिइयो। विसं २०७८ देखि भने पुनः सबैका लागि सार्वजनिक बिदा दिन थालिएको छ।
पछिल्ला वर्षहरूमा नेपालका मुख्य सहर र पर्यटकीय क्षेत्रहरू क्रिसमस ‘ट्रि’ र झिलिमिली बत्तीले सजिने गरेका छन्। विशेषगरी ठमेल, बौद्ध, पोखरा, सौराहा जस्ता स्थानमा क्रिसमसको चहलपहल र उत्साह बढी देखिने गरेको छ।
महासङ्घका अनुसार हाल नेपालमा करिब ३० लाख क्रिश्चियन धर्मावलम्बी छन् भने देशभर १३ हजारभन्दा बढी चर्च सञ्चालनमा रहेका छन्।


