विराटनगर । धार्मिक तथा सांस्कृतिक महत्व बोकेको देवघाट क्षेत्रलाई प्लाष्टिक निषेधित क्षेत्र घोषणा गरिने भएको छ। यही पुस ११ गते औपचारिक रूपमा देवघाटलाई प्लाष्टिक निषेधित क्षेत्र घोषणा गर्ने तयारी अन्तिम चरणमा पुगेको देवघाट क्षेत्र विकास समितिले जनाएको छ।
देवघाट क्षेत्र विकास समितिको संयोजनमा भरतपुर महानगरपालिका, गैँडाकोट नगरपालिका र देवघाट गाउँपालिकाको सहकार्यमा उक्त घोषणा गर्न लागिएको हो। समितिले सहमति संस्था, ‘नदीसँग हामी’ लगायतका विभिन्न सरोकारवाला संस्थासँगको सहकार्यमा देवघाटलाई प्लाष्टिकमुक्त बनाउने अभियान अघि बढाउन लागेको छ।
यस अभियानअन्तर्गत देवघाट क्षेत्रभित्र ३७ वटा फोहर व्यवस्थापनका डस्बिन राखिएका छन्। ती डस्बिनमा प्लाष्टिकजन्य सामग्री, पानीका बोतल तथा पत्ती (ब्लेड) फोहर छुट्टाछुट्टै संकलन गर्ने व्यवस्था मिलाइएको छ।
देवघाट क्षेत्र विकास समितिका अध्यक्ष डा. ईश्वरीराज लौडारीका अनुसार प्लाष्टिक निषेधित क्षेत्र घोषणा भएसँगै दीर्घकालीन रूपमा देवघाटलाई प्लाष्टिकमुक्त बनाउने अभियान सञ्चालन गरिनेछ। समितिको कार्यक्षेत्रभित्र पर्ने पाँच हजार ४३४ हेक्टर क्षेत्रलाई प्लाष्टिक निषेधित क्षेत्रका रूपमा लागू गरिने उहाँले जानकारी दिनुभयो।
समितिका कार्यकारी निर्देशक सदन बरालले देवघाट क्षेत्रलाई पूर्ण रूपमा प्लाष्टिकमुक्त बनाउन स्थानीय सरकार, संस्था तथा सर्वसाधारण सबैको सक्रिय सहकार्य अपरिहार्य रहेको बताए।