क्रिसमसले सद्भाव र सहिष्णुता बलियो बनाओस् : मुख्यमन्त्री कार्की

0 Shares

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले इसाई धर्मावलम्बीहरूको महत्वपूर्ण पर्व क्रिसमसको अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली नागरिकलाई हार्दिक शुभकामना व्यक्त गरेका छन्।

बिहीबार जारी शुभकामना सन्देशमा मुख्यमन्त्री कार्कीले प्रेम, शान्ति, करुणा र मानव कल्याणको सन्देश बोकेको क्रिसमस पर्वले समाजमा आपसी सद्भाव, सहिष्णुता र भाइचारालाई थप मजबुत बनाउने विश्वास व्यक्त गरेका छन्।

येशु ख्रिष्टले देखाएको प्रेम, त्याग र क्षमाको मार्ग आजको समाजका लागि प्रेरणाको स्रोत भएको उल्लेख गर्दै उनले मानव जातिबीचको एकता र सेवाभाव नै क्रिसमसको मूल सन्देश रहेको बताए।

नेपाल बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक मुलुक भएको स्मरण गराउँदै मुख्यमन्त्री कार्कीले सबै धर्म, संस्कृति, परम्परा र चाडपर्वको सम्मान, संरक्षण तथा प्रवर्द्धन गर्नु प्रदेश सरकारको दायित्व रहेको स्पष्ट पारे।

विविध पहिचान बोकेको कोशी प्रदेशमा सबै समुदायबीच आपसी सम्मान र समझदारी सुदृढ हुँदै विकास र समृद्धिमा टेवा पुग्ने विश्वास व्यक्त गर्दै उनले ‘समृद्ध नेपाल, सुखी नेपाली’ बनाउने राष्ट्रिय लक्ष्य प्राप्तिमा क्रिसमस पर्वले थप प्रेरणा दिने अपेक्षा गरेका छन्।

सम्बन्धित समाचारसबै