बर्दियामा पाँचौं पटक बाघ गणना सुरु, मानव–वन्यजन्तु द्वन्द्व बढ्दो चिन्ता

0 Shares

विराटनगर । बर्दिया राष्ट्रिय निकुञ्जमा हिजोदेखि पाँचौं पटक बाघ गणना सुरु गरिएको छ। वन तथा वातावरण मन्त्रालयका सचिव गोविन्द शर्माका अनुसार, निकुञ्जभित्र क्यामरा जडान गरी बाघको सङ्ख्या मापन थालिएको हो। पछिल्ला वर्षमा बर्दियामा बाघको सङ्ख्या उल्लेख्य रूपमा वृद्धि भएको पाइएको छ।

सचिव शर्माका अनुसार निकुञ्जमा बाघको सङ्ख्या आठगुणाले बढेको छ, जसले संरक्षणमा चुनौती पनि थपेको छ। बाघ गणना सुरु भएको पहिलो दिनै बारबर्दिया नगरपालिका–१०, बैदी फेनापति सामुदायिक वनमा पार्वती डाँगी नामक व्यक्तिलाई बाघले आक्रमण गरेर मृत्यु भएको घटना भएको छ।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका तथ्याङ्कअनुसार, हाल नेपालमा ३५५ बाघ छन्, जसमा बर्दियामा मात्र करिब १२५ बाघ रहेका छन्। पछिल्लो समय २१ वटा पाटेबाघ मरेका छन्। बाढी–पहिरो, चोरी सिकारी, आपसी लडाइँ र प्राकृतिक कारणले पाटेबाघहरूको मृत्यु भएको बर्दिया राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत अशोक रामले जानकारी दिनुभयो।

बाघ संरक्षणका लागि आवास विस्तार, सुरक्षा, सिकार नियन्त्रण जस्ता उपायलाई मुख्य कारण मानिएको छ। तर बाघको सङ्ख्या बढ्दै जाँदा मानव–वन्यजन्तु द्वन्द्व पनि तीव्र हुँदै गएको छ। निकुञ्जका तथ्याङ्कअनुसार, पछिल्ला तीन आर्थिक वर्षमा बर्दियामा ३२२ वन्यजन्तु मरेका छन् भने ४२३ वन्यजन्तुको उद्धार गरिएको छ। मृत्युका कारणमा गाडी दुर्घटना, तारजालीमा अड्किनु, कुकुर आक्रमण, रोग, विद्युत् र आपसी द्वन्द्व मुख्य छन्।

विशेषगरी वयस्क बाघबीच क्षेत्राधिकारका लागि हुने प्रतिस्पर्धाले पनि धेरैको मृत्यु भएको छ। मानव–बाघ द्वन्द्व तीव्र बन्दै गएपछि चालू आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा मात्रै चार जनाले बाघको आक्रमणमा ज्यान गुमाएका छन्। पछिल्ला तीन वर्षमा नेपालभर ५३ जनाले ज्यान गुमाएका छन्, जसमा बर्दियामा मात्रै ३४ जनाको मृत्यु भएको छ। रासस

सम्बन्धित समाचारसबै