विराटनगर । ‘हाम्रो साझा अभियानः ज्येष्ठ नागरिकप्रति श्रद्धा र सम्मान’ भन्ने आदर्श वाक्यका साथ आज देशभर विभिन्न कार्यक्रम आयोजना गरी ज्येष्ठ नागरिक दिवस मनाइँदै छ। ज्येष्ठ नागरिकको हक, हित र अधिकारको संरक्षण गर्दै उनीहरूप्रति सम्मान, संरक्षण तथा सामाजिक सहभागिता प्रवर्द्धन गर्ने उद्देश्यले यो दिवस मनाइने गरिएको हो।
नेपालमा ११ पुस २०५१ मा सामाजिक सुरक्षा भत्ता सुरु गरिएको दिनको स्मरणमा प्रत्येक वर्ष ज्येष्ठ नागरिक दिवस मनाइन्छ। यस अवसरले ज्येष्ठ नागरिकप्रतिको हाम्रो सामूहिक दायित्व, जिम्मेवारी र कर्तव्यलाई पुनः स्मरण गराउँदै उनीहरूप्रति सम्मान र आदरभाव अभिवृद्धि गर्ने सन्देश दिन्छ।
जीवनको लामो यात्रामा समाज र राष्ट्रका लागि ज्येष्ठ नागरिकले गरेको त्याग, सेवा र योगदान अमूल्य सम्पत्ति भएको उल्लेख गर्दै दिवसले उनीहरूको अनुभव र ज्ञानलाई भावी पुस्तासँग जोड्नुपर्ने आवश्यकता औँल्याउँछ।
नेपालको संविधान तथा ज्येष्ठ नागरिकसम्बन्धी ऐन, २०६३ ले ज्येष्ठ नागरिकलाई विशेष संरक्षण र सामाजिक सुरक्षाको अधिकार सुनिश्चित गरेको छ। संविधानले स्वास्थ्य सेवा, सम्मानजनक जीवन तथा आवश्यक सहयोग प्राप्त गर्ने अधिकार प्रत्याभूत गरेकाले उनीहरूको गरिमामय जीवनका लागि कानुनी आधार मजबुत बनेको छ।
नेपालमा २०५२ सालमा तत्कालीन प्रधानमन्त्री मनमोहन अधिकारी नेतृत्वको सरकारले १०० रुपैयाँ वृद्धभत्ता सुरु गरेको थियो। समयक्रमसँगै वृद्धभत्ताको रकम वृद्धि हुँदै हाल ज्येष्ठ नागरिकले ४ हजार रुपैयाँ मासिक वृद्धभत्ता पाउँदै आएका छन्। हाल देशभर करिब १७ लाख ज्येष्ठ नागरिक सामाजिक सुरक्षा भत्ताबाट लाभान्वित छन्।
ज्येष्ठ नागरिक दिवसले उनीहरूको सम्मान मात्र होइन, संरक्षण र सहभागितालाई पनि समाजको साझा जिम्मेवारीका रूपमा स्थापित गर्न प्रेरणा दिने अपेक्षा गरिएको छ।