दुर्गा प्रसाईंविरुद्धको मुद्दा उच्च अदालत पाटनमा पुनः सुनुवाइ

0 Shares

काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईंविरुद्ध दायर बैंकिङ कसुरसम्बन्धी मुद्दाको सुनुवाइ उच्च अदालत पाटनमा हुँदैछ। बुधबार न्यायाधीशद्वय लेखनाथ पौडेल र गीता प्रसाद तिम्सिनाको संयुक्त इजलासमा मुद्दा पेश हुने भएको हो।

यसअघि सोही मुद्दामा न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र मुनेन्द्रप्रसाद अवस्थीको इजलासले प्रसाईंलाई २५ लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको थियो।

नेपाल राष्ट्र बैंकले गत माघ २३ गते प्रसाईंको बैंकिङ कारोबार शंकास्पद देखिएको भन्दै केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) लाई अनुसन्धानका लागि पत्राचार गरेको थियो। सीआईबीले अनुसन्धान पूरा गरी विशेष सरकारी वकिलको कार्यालयमा प्रतिवेदन बुझाएको थियो।

उक्त प्रतिवेदनका आधारमा सरकारी वकिलले दुर्गा प्रसाईंविरुद्ध १८ करोड ४४ लाख रुपैयाँ बिगो कायम गर्दै जरिवाना र कैद सजायको मागसहित मुद्दा दायर गरेको हो। साथै पीडित राहत कोषमा क्षतिपूर्ति भराउनसमेत माग गरिएको छ।

प्रसाईंले विभिन्न बैंक तथा वित्तीय संस्थामा रहेका खाताहरूमा गलत कारोबार देखाएको, राउन्ड ट्रिपिङ गरेको तथा स्वार्थ बाझिने गरी आपसी पक्षसँग शंकास्पद आर्थिक कारोबार गरेको आरोप अभियोगपत्रमा उल्लेख गरिएको छ।

सम्बन्धित समाचारसबै