काठमाडौँ । वैदेशिक रोजगारीमा जाने श्रमिकलाई ठगीबाट जोगाउने उद्देश्यले सरकारले ‘हेल्प अस टु हेल्प यु’ नामक नयाँ कार्यक्रम सञ्चालनमा ल्याएको छ। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले यो कार्यक्रम देशभर रहेका ७५३ स्थानीय तहका रोजगार केन्द्रमार्फत कार्यान्वयनमा ल्याएको हो।
कार्यक्रम अन्तर्गत वैदेशिक रोजगारमा जान चाहने श्रमिकले ‘१० प्रश्न’ प्रणालीमार्फत आफूले खोजेका महत्वपूर्ण जानकारी र जिज्ञासाको जवाफ पाउने व्यवस्था गरिएको छ। यसले रोजगारी प्रक्रियामा देखिने अन्योल र भ्रम कम गर्ने अपेक्षा गरिएको छ।
कार्यक्रम प्रभावकारी रूपमा सञ्चालन गर्न मन्त्रालयले वैदेशिक रोजगार विभाग, श्रम तथा व्यवसायजन्य सुरक्षा विभाग, ती विभागअन्तर्गतका ११ वटा श्रम तथा रोजगार कार्यालय तथा देशभरका रोजगार सूचना केन्द्रमा यसअघि नै पत्राचार गरिसकेको जनाएको छ।
श्रम मन्त्रालयका प्रवक्ता पीताम्बर घिमिरेका अनुसार वैदेशिक रोजगारीका क्रममा हुने ठगी नियन्त्रण गर्न यो कार्यक्रम महत्वपूर्ण माध्यम बन्नेछ। उनका अनुसार देशभरका ७५३ स्थानीय तहका रोजगार सूचना केन्द्र, सातै प्रदेशका श्रम कार्यालय, वैदेशिक रोजगार विभाग र समाधान कल सेन्टरलाई एउटै प्रणालीमा जोडेर कार्यालय समयमै सेवा प्रदान गरिने छ।
मन्त्रालयले यो कार्यक्रममार्फत सुरक्षित, पारदर्शी र जानकारीमूलक वैदेशिक रोजगारी प्रवर्द्धन गर्ने लक्ष्य लिएको जनाएको छ।