काठमाडौँ । निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि माघ पहिलो सातादेखि निर्वाचन आचारसंहिता लागू गर्ने तयारी गरेको छ। आयोगले ‘निर्वाचन आचारसंहिता २०८२’ को मस्यौदा तयार गरी सरोकारवालाहरूसँग राय सुझाव संकलन गरिरहेको छ।
कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीका अनुसार, निर्वाचनको ४५ दिनअघि आचारसंहिता लागू गर्ने प्रचलनअनुसार यस पटक पनि यही प्रक्रिया अपनाउने तयारी छ। आगामी साता राजनीतिक दल र सरकारसँग अन्तिम छलफल गरी मस्यौदालाई पूर्णता दिइने छ।
आचारसंहिता लागू भएपछि नयाँ नियुक्ति, सरुवा, बढुवा वा दीर्घकालीन महत्त्वका निर्णय गर्न सरकार, राजनीतिक दल तथा उम्मेदवारहरूले विशेष सतर्कता अपनाउनुपर्नेछ। दैनिक प्रशासनिक काम बाहेकका महत्वपूर्ण निर्णयमा रोक लाग्नेछ।
निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष, पारदर्शी र भयमुक्त बनाउने उद्देश्यसहित आयोगले निर्वाचन आयोग ऐन २०७३ को दफा २२ को अधिकार प्रयोग गर्दै आचारसंहिता जारी गर्न लागेको हो। आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार करिब डेढ महिनाअघि देखि दलहरूसँगको परामर्शमा मस्यौदा तयार पारिएको छ र प्राप्त सुझावहरू समेटेर केही दिनभित्रै यसलाई अन्तिम रूप दिइनेछ।