काठमाडौँ । हर्क साम्पाङ नेतृत्वको ‘श्रम संस्कृति पार्टी’का निलम्बित उपाध्यक्ष डा. मित्र परियार नेपाली कम्युनिस्ट पार्टी (नेकपा) प्रवेश गरेका छन्। शुक्रबार परियारले पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेटेर आफ्नो राजनीतिक यात्रा अब नेकपाबाट हुने स्पष्ट पारे।
डा. परियार ५ पुसमा बुटवलमा भएको श्रम संस्कृति पार्टीको आमसभामा साम्पाङसँगै उपस्थित थिए। तर सभामा बोल्दा नेतृत्वसँग असन्तुष्टि देखाएपछि राईले सामाजिक सञ्जालमार्फत उनलाई बर्खास्त गरेका थिए। बर्खास्तको पत्र केही दिनपछि मात्र सार्वजनिक भएको थियो।
परियारले आफूलाई अपमान गरिएको बताए। उनले भने, पार्टीको अवधारणापत्रमा ‘हर्कवाद’ अङ्गालेको प्रति असहमति थियो। उनका अनुसार राजनीतिक दस्तावेज व्यक्ति केन्द्रित नभई विचार केन्द्रित हुनुपर्ने र विचारधारात्मक वैज्ञानिक मार्गदर्शनमा आधारित हुनुपर्छ।
बेलायतको अक्सफोर्ड विश्वविद्यालयबाट स्नातक गरेका परियार लामो समयदेखि दलित र मानवअधिकार क्षेत्रमा सक्रिय थिए। भदौमा श्रम संस्कृति पार्टी प्रवेश गरी केन्द्रीय उपाध्यक्षको जिम्मेवारी पाएका उनी पार्टीभित्रको वैचारिक मतभेद र अपमानजनक व्यवहारका कारण अलग भएका हुन्।
परियारले भने, “म पहिलो दिनदेखि नै अपमानित हुँदै आएको छु। पार्टीभित्र वैचारिक बहस हुनुपर्नेमा उल्टै अपमान गरियो। माफी मागे सांसद पद पक्का हुन्थ्यो, तर ६० लाख दलितको शीर झुकाउने काम गर्दिनँ।” उनले एमसीसीको विषयमा आफ्नो धारणा लिएर समेत अपमानित भएको बताए।
प्रचण्डसँगको भेटमा परियारले संगठनले दिएको जिम्मेवारी इमान्दारीपूर्वक पूरा गर्ने र नयाँ राजनीतिक यात्रा सुरु गर्ने प्रतिबद्धता व्यक्त गरे। उनले भने, “एउटा घरबाट निकालिएपछि अर्को घर आएको मात्रै हो। संगठनले जिम्मेवारी दिन्छ भने त्यस अनुसार काम गर्छु।”