प्रसारण लाइनमुनिको जग्गा अब कित्ताकाट गर्न मिल्ने, जग्गाधनीलाई ठूलो राहत

0 Shares

काठमाडौँ । विद्युतीय प्रसारण लाइनका कारण वर्षौंदेखि रोकिँदै आएको जग्गाको कित्ताकाट अब सम्भव हुने भएको छ। सरकारले भूउपयोग नियमावली, २०७९ को तेस्रो संशोधन गर्दै प्रसारण लाइनको तारमुनि पर्ने जग्गा कित्ताकाट गर्न पाउने व्यवस्था लागू गरेको हो।

गत कात्तिक २७ गते राजपत्रमा प्रकाशित भई कार्यान्वयनमा आइसकेको यो व्यवस्थाअनुसार प्रसारण लाइनको राइट अफ वेमा पर्ने जग्गाको स्वामित्व सम्बन्धित जग्गाधनीकै नाममा रहनेछ। यसले प्रसारण लाइन निर्माणका क्रममा देखिँदै आएको जग्गा व्यवस्थापनको समस्या समाधान हुने सरकारको विश्वास छ।

नयाँ व्यवस्थाले कित्ताकाट गर्न बाटो खोले पनि सुरक्षासम्बन्धी मापदण्ड भने यथावत् रहनेछन्। प्रसारण लाइनको राइट अफ वेभित्र घर, अन्य संरचना निर्माण, अग्ला रुख रोप्ने वा जोखिमपूर्ण गतिविधि गर्न भने प्रतिबन्ध कायम नै रहनेछ।

प्राविधिक मापदण्डअनुसार ६६ र १३२ केभी प्रसारण लाइनका लागि दायाँ–बायाँ ९–९ मिटर, २२० केभीका लागि १५–१५ मिटर र ४०० केभीका लागि २३–२३ मिटर क्षेत्रलाई राइट अफ वे तोकिएको छ। यो दूरी लाइनको भोल्टेज, टावरको उचाइ र तारको झुन्डिने अवस्थाका आधारमा निर्धारण गरिन्छ।

प्रसारण टावर राखिने स्थानको जग्गा भने मुआब्जा दिएर पूर्ण रूपमा अधिग्रहण गरिन्छ। तर राइट अफ वेमा पर्ने जग्गाको स्वामित्व जग्गाधनीकै नाममा राख्दै मूल्याङ्कन रकमको १० देखि २५ प्रतिशतसम्म क्षतिपूर्ति दिने व्यवस्था छ।

सम्बन्धित आयोजनाबाट जग्गा प्राप्तिको निर्णय र क्षतिपूर्ति दिएको प्रमाण पेश गरेमा उक्त क्षेत्रको कित्ताकाट गर्न सकिने नियमावलीमा स्पष्ट उल्लेख छ।

यसअघि राइट अफ वेमा पर्ने जग्गाको कित्ताकाट नहुँदा नामसारी, बैंकमा धितो राख्न तथा जग्गा कारोबार गर्न नपाएर जग्गाधनीहरू आर्थिक र सामाजिक समस्यामा पर्दै आएका थिए। नयाँ व्यवस्थासँगै जग्गा कारोबार सहज हुने र नागरिकले आफ्नो सम्पत्तिको कानुनी उपयोग गर्न पाउने अपेक्षा गरिएको छ।

सम्बन्धित समाचारसबै