मोरङ–भारत सीमामा गाँजा तस्करी, ३३० किलोसहित दुई भारतीय पक्राउ

0 Shares

विराटनगर । मोरङ–भारत सीमा क्षेत्रमा भइरहेको अवैध गाँजा ओसारपसार प्रहरीले नियन्त्रण गरेको छ । शनिबार राति प्रहरीले हवाई फायर गर्दै ३३० किलो गाँजासहित दुई जना भारतीय नागरिकलाई नियन्त्रणमा लिएको हो ।

जहदा गाउँपालिका–२ तारिगामास्थित सीमा नजिक नेपालबाट भारततर्फ गाँजा लैजाँदै गरिएको सूचनाका आधारमा मोरङ प्रहरी सक्रिय बनेको थियो । प्रहरी प्रमुख एसपी कवित कटवालको निर्देशनमा इन्स्पेक्टर सरोज खनालको नेतृत्वमा खटिएको टोलीले राति करिब १०ः३० बजे तस्करी भइरहेको स्थान घेराबन्दी गरेको थियो ।

प्रहरी टोली पुग्दा टाउकोमा गाँजाको बोरा बोकेर भारततर्फ लैजाँदै गरेका तस्करहरू प्रहरी देख्नासाथ गाँजा छाडेर भाग्न खोजेका थिए । अवस्था नियन्त्रणमा लिन प्रहरीले ठूलो चाइनिज पेस्तोलबाट एक राउण्ड हवाई फायर गर्नुपरेको जनाइएको छ ।

हवाई फायरपछि प्रहरीले भारतको अररिया चन्दामोहनका २४ वर्षीय अबुल हसन र ३० वर्षीय सोहेल खानलाई नियन्त्रणमा लिएको हो । बरामद गाँजासहित उनीहरूलाई जिल्ला प्रहरी कार्यालय मोरङमा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

एसपी कटवालका अनुसार पक्राउ परेका दुवै जनामाथि लागुऔषध ऐन अन्तर्गत मुद्दा चलाउने तयारी गरिएको छ । प्रहरीका अनुसार पूर्वी पहाडी जिल्लामा उत्पादन हुने गाँजा सुरक्षाकर्मीलाई छलेर भारत पुर्‍याउने प्रयास बारम्बार हुने गरेको छ । भारतमा गाँजाको मूल्य दोब्बर पर्ने भएकाले तस्करी बढ्दै गएको प्रहरीको निष्कर्ष छ ।

सम्बन्धित समाचारसबै