मेयर बालेनको नयाँ राजनीतिक यात्रा, दुई साताभित्र महानगरबाट विदाइ

0 Shares

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले पदबाट राजीनामा दिने तयारी गरेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)सँग आइतबार बिहान भएको ७ बुँदे सहमतिपछि बालेनले औपचारिक रूपमा महानगरको नेतृत्व छाड्ने प्रक्रिया अघि बढाएका हुन् ।

मेयरका प्रमुख स्वकीय सचिव भुपदेव शाहका अनुसार महानगरभित्र बाँकी रहेका आवश्यक प्रशासनिक तथा नीतिगत काम सम्पन्न गरेपछि बालेनले दुई साताभित्र, अर्थात् १५ दिनभित्र राजीनामा दिनेछन् । “उचित समय आएपछि मेयरज्यूले राजीनामा दिनुहुन्छ । केही काम अन्तिम चरणमा छन्, ती सकाएर पद छाड्ने निर्णय भएको छ,” उनले बताए ।

राजीनामापछि बालेन सक्रिय संसदीय राजनीतिमा प्रवेश गर्ने तयारीमा छन् । आगामी फागुन २१ गते तय भएको प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै माघ ६ गते मनोनयन दर्ताको कार्यसूची सार्वजनिक भइसकेको छ । रास्वपासँगको सहमतिअनुसार बालेन संसदीय दलको नेता बन्ने र प्रधानमन्त्रीको उम्मेदवारका रूपमा अघि सारिने सहमति भएको स्रोतको दाबी छ ।

स्थानीय तहबाट राष्ट्रिय राजनीतितर्फ बालेनको कदमलाई अर्थपूर्ण परिवर्तनका रूपमा हेरिएको छ । महानगरमा ‘एक्सन मेयर’को छवि बनाएका बालेनको आगामी राजनीतिक यात्राले राष्ट्रिय राजनीतिमा कस्तो प्रभाव पार्ला भन्ने चासो बढ्दै गएको छ ।

सम्बन्धित समाचारसबै