काठमाडौँ । असार अन्तिम सातामा आएको बाढी–पहिरोका कारण नेपाल–चीनबीचको मुख्य व्यापारिक नाका रसुवागढी करिब छ महिनादेखि बन्द रहँदा त्यसमा निर्भर हजारौँ साना तथा मझौला व्यापारीहरूको रोजगारी र व्यवसाय नै जोखिममा परेको व्यवसायी संगठनहरूले बताएका छन्।
ठूलो परिमाणमा आयात–निर्यात गर्ने व्यापारीहरूले भारत हुँदै समुद्री मार्ग प्रयोग गर्ने वैकल्पिक व्यवस्था गर्न सके पनि सानो परिमाणमा कारोबार गर्नेहरूका लागि उत्तरी नाका बन्द हुनु गम्भीर संकट बनेको छ। सीमित पूँजी र थोरै सामानमा निर्भर व्यापारीहरू लामो ढुवानी समय र उच्च लागतका कारण विकल्पविहीन अवस्थामा पुगेका छन्।
नेपाल हिमालय सीमापार वाणिज्य सङ्घका अध्यक्ष रामहरि कार्कीका अनुसार ‘केही पोका सामान’ ल्याएर साना र मझौला बजारमा व्यापार गर्ने व्यवसायीहरूको संख्या हजारौँमा छ। “न उनीहरूले कन्टेनर भरिने गरी भारतबाट सामान मगाउन सक्छन्, न त उत्तरी नाकाबाट आउने सामानका लागि डेढ–दुई महिना कुर्न सक्ने अवस्था नै छ,” कार्कीले बताए।
रसुवागढी नाका असार २४ गतेदेखि पूर्ण रूपमा बन्द भएपछि हाल सञ्चालनमा रहेको एक्लो उत्तरी नाका तातोपानीमा अत्यधिक चाप परेको छ। तर मर्मतसम्भारकै कारण तातोपानी नाका सामान्य अवस्थामा पनि पूर्ण क्षमतामा सञ्चालनमा थिएन। अहिले त्यहाँ अनियमित रूपमा थोरै कन्टेनर मात्र छाडिने गरेको व्यवसायीहरूको गुनासो छ।
“कहिले पाँच–सातवटा, कहिले तीनवटा मात्र कन्टेनर छाडिन्छ। धेरै भयो भने १४–१५ वटा छाडिन्छ,” कार्की भन्छन्। तातोपानी पारि कन्टेनरको लामो लाइन लागेको र नाका खुल्ने आशामा केही कन्टेनर केरुङसम्म पुर्याएर राखिएको उनले जानकारी दिए।
यसबीच रसुवाका प्रमुख जिल्ला अधिकारी राजेश पन्थीले चिनियाँ पक्षबाट अझैसम्म रसुवागढी पुल सञ्चालन हुने निश्चित मिति प्राप्त नभएको बताएका छन्। नाका खुल्ने अन्योल कायमै रहँदा उत्तरी नाकामा आश्रित साना व्यापारीहरूको भविष्य थप अनिश्चित बन्दै गएको छ।