बालेन–रास्वपा सहमतिपछि हरिशरण लामिछानेको मेयर आकांक्षा सार्वजनिक

0 Shares

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन शाहबीच सात बुँदे सहमति सार्वजनिक भएपछि पार्टी सभापति रवि लामिछानेका दाजु हरिशरण लामिछानेले त्यसप्रति खुसी व्यक्त गरेका छन्। उनले उक्त सहमति सकारात्मक दिशातर्फको कदम भएको संकेत गर्दै काठमाडौँ महानगरपालिकाको भावी मेयर पदमा आफ्नो स्वतन्त्र उम्मेदवारी रहने सम्भावना रहेको बताएका छन्।

सामाजिक सञ्जालमार्फत प्रतिक्रिया जनाउँदै हरिशरणले बालेन शाह र रवि लामिछानेबीच भएको समझदारीलाई ‘दुई भाइको सहमति’ का रूपमा उल्लेख गरेका छन्। उनले उक्त सहमतिले काठमाडौँको विकास र व्यवस्थापनमा नयाँ सम्भावनाको ढोका खोल्ने विश्वास व्यक्त गरेका छन्।

उनको अभिव्यक्तिले काठमाडौँको आगामी मेयर चुनावमा नयाँ राजनीतिक समीकरण बन्न सक्ने संकेत दिएको छ। रास्वपाका नेता रवि लामिछानेसँग पारिवारिक सम्बन्ध भए पनि आफू कुनै दलको तर्फबाट नभई स्वतन्त्र रूपमा उम्मेदवार बन्न सक्ने सम्भावनाबारे उनले स्पष्ट सङ्केत गरेका हुन्।

“दुई भाइको सम्झौताप्रति सम्मान र खुसी व्यक्त गर्दै काठमाडौँ महानगरपालिकाको भावी मेयर पदमा मेरो ‘स्वतन्त्र उम्मेदवारी’ रहने प्रबल सम्भावना रहेको जानकारी गराउँदछु,” हरिशरणले लेखेका छन्।

राजनीतिक वृत्तमा उनको यो अभिव्यक्तिलाई आगामी स्थानीय निर्वाचनलाई लक्षित प्रारम्भिक सन्देशका रूपमा हेरिएको छ। काठमाडौँ महानगरको नेतृत्वमा निरन्तर बहस र चासो रहँदै आएको बेला हरिशरण लामिछानेको सम्भावित उम्मेदवारीले चुनावी प्रतिस्पर्धा थप रोचक बन्ने अनुमान गरिएको छ।

सम्बन्धित समाचारसबै