मानवीय सहयोगको नाममा हमासलाई करोडौँ पठाएको आरोप, इटालीमा ९ जना पक्राउ

0 Shares

विराटनगर । प्यालेस्टिनी नागरिकलाई सहयोग गर्ने बहानामा आतङ्कवादी समूह हमासका लागि ठूलो रकम संकलन गरिएको खुलासासँगै इटालीमा नौ जना पक्राउ परेका छन्। इटालियन प्रहरीका अनुसार पक्राउ परेकाहरूले दुई वर्षभन्दा बढी समयदेखि करिब ७० लाख युरो (नेपाली रुपैयाँमा १ अर्ब १८ करोडभन्दा बढी) रकम हमाससम्म पुर्‍याएका थिए।

प्रहरी अनुसन्धानले देखाएअनुसार उनीहरूले विभिन्न परोपकारी संस्था र चन्दा अभियानमार्फत रकम उठाएका थिए। तर संकलित रकम मानवीय सहायताका लागि प्रयोग गर्नुको सट्टा हमासको गतिविधिमा खर्च गरिएको इटालियन प्रहरीको दाबी छ। यस विषयमा बीबीसीले प्रहरीको विज्ञप्तिलाई उद्धृत गर्दै समाचार प्रकाशित गरेको हो।

अनुसन्धानका क्रममा प्रहरीले ८० लाख युरोभन्दा बढी मूल्य बराबरको सम्पत्ति जफत गरेको जनाएको छ। पक्राउ परेकाहरूलाई आतङ्कवादी गतिविधिलाई आर्थिक सहयोग पुर्‍याउने उद्देश्यले योजनाबद्ध रूपमा वित्तपोषण गरेको आरोप लगाइएको छ।

प्रहरीका अनुसार गाजाका सर्वसाधारणका लागि सहयोग भन्दै उठाइएको कुल रकममध्ये ७१ प्रतिशतभन्दा बढी हमासको सैन्य शाखामा पुगेको पाइएको छ। उक्त रकम आत्मघाती आक्रमणकारीहरूका परिवार तथा आतङ्कवादको आरोपमा पक्राउ परेकाहरूका परिवारलाई सहयोग गर्न प्रयोग गरिएको उल्लेख छ।

सन् २०२३ अक्टोबर ७ मा हमासले दक्षिणी इजरायलमा गरेको आक्रमणपछि यस विषयमा गहिरो अनुसन्धान थालिएको प्रहरीले जनाएको छ।

इटालीका गृहमन्त्री माटेओ पियान्टेडोसीका अनुसार पक्राउ परेकामध्ये सबैभन्दा चर्चित व्यक्ति इटालीस्थित प्यालेस्टिनी सङ्घका अध्यक्ष मोहम्मद हन्नौन रहेका छन्। घटनाले युरोपमा आतङ्कवादी वित्तपोषणसम्बन्धी चिन्ता थप गम्भीर बनाएको बताइएको छ।

सम्बन्धित समाचारसबै