इटहरीमा उपचारका लागि आएकी महिलाको ज्वाइँद्वारा हत्या

0 Shares

विराटनगर । उपचारका लागि भोजपुरबाट सुनसरीको इटहरी आएकी एक महिलाको आफ्नै ज्वाइँले हत्या गरेका छन्। मोरङको बाहुनीघर स्थायी ठेगाना भई हाल इटहरीमा डेरा गरी बस्दै आएका २७ वर्षीय गणेश साह गुप्ताले आफ्नी सासु ५० वर्षीया पबीमाया बयलकोटीको हत्या गरेका हुन्।

प्रहरीका अनुसार भोजपुरको दिङ्ला निवासी पबीमाया करिब एक साताअघि श्रीमान्सहित उपचारका लागि इटहरी आएकी थिइन्। उनी इटहरी–स्थित जनता बस्तीमा बस्ने अर्की छोरीको घरमा बसेर उपचार गराइरहेकी थिइन्। सोमबार घर फर्कने तयारीमा रहेकी पबीमाया आइतबार राति अर्की छोरी र ज्वाइँ गणेशको डेरामा पुगेकी थिइन्।

घर फर्कनु अघिल्लो रात ज्वाइँ गणेशले पानी तान्ने ट्युबेलको ह्याण्डलले पबीमायाको टाउकोमा प्रहार गरी हत्या गरेको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ। टाउकोमा गम्भीर चोट लागेपछि पबीमायाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

प्रारम्भिक अनुसन्धानका क्रममा छोरी र ज्वाइँबीच दैनिक रूपमा हुने झगडा मिलाउन र ज्वाइँलाई सम्झाउन खोज्दा गणेश आक्रोशित भई सासुमाथि आक्रमण गरेको खुलेको छ। घटनामा संलग्न गणेशलाई प्रहरीले नियन्त्रणमा लिई कर्तव्य ज्यान मुद्दामा थप अनुसन्धान अघि बढाएको इलाका प्रहरी कार्यालय इटहरीले जानकारी दिएको छ।

सम्बन्धित समाचारसबै