जसपा नेपाल र अशोक राई समूहबीच आज एकता घोषणा हुने तयारी

0 Shares

काठमाडौँ । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपाल (जसपा नेपाल) र अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीबीच एकता हुने तयारी अन्तिम चरणमा पुगेको छ। दुई दलले आजै एकताको औपचारिक घोषणा गर्ने तयारी गरेका छन्।

पार्टी एकताको पहल जसपाकी उपाध्यक्ष रेनु यादवले अगाडि बढाएकी छन्। यद्यपि, जसपाका अध्यक्ष अशोक राई एकताका विषयमा अझै पूर्ण रूपमा सहमत भइनसकेको बताइन्छ। स्रोतका अनुसार राईलाई साथमै लिएर एकता घोषणा गर्ने प्रयास भइरहे पनि सहमति नजुटिए उपाध्यक्ष यादवको नेतृत्वमा जसपा नेपालसँग अलग रूपमा एकता घोषणा हुनसक्ने सम्भावना रहेको छ।

स्रोतले जनाएअनुसार यादव पक्षले पार्टीभित्र आफूहरूसँग बहुमत केन्द्रीय सदस्य रहेको दाबी गरेको छ। यसअघि जसपाका नेता राजेन्द्र श्रेष्ठ पार्टीबाट अलग भई नेकपा (एमाले)सँग एकता गरिसकेका छन्। बाँकी केन्द्रीय सदस्यलाई समेटेर यादव पक्षले जसपा नेपालसँग एकताका लागि कदम अगाडि बढाएको हो।

अशोक राई अन्तिम समयमा एकतामा सहभागी नभए पनि यादव पक्षधर नेताहरूले आजै जसपा नेपालसँग एकता घोषणा गर्ने तयारी गरेको जनाइएको छ। यस घटनाक्रमलाई मधेस केन्द्रित राजनीतिमा नयाँ ध्रुवीकरणको संकेतका रूपमा हेरिएको छ।

उल्लेखनीय छ, आइतबार मात्रै महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपाल र उपेन्द्र यादव नेतृत्वको जसपा नेपालबीच एकताका लागि सहमति भएको थियो। लगातार भइरहेका यी एकता प्रयासले मधेसी राजनीतिक शक्तिहरूलाई एकीकृत गर्ने दिशामा महत्त्वपूर्ण मोड आएको विश्लेषकहरूको भनाइ छ।

सम्बन्धित समाचारसबै