“चेतना र चुनाव: नयाँ पुस्ताको चुनौती”

0 Shares

एन्जु शिवाकोटी, विराटनगर ।

देश फेरि एकपटक गम्भीर राजनीतिक मोडमा उभिएको छ। लामो समयदेखि देखिँदै आएको अस्थिरता, निराशा र अविश्वासले नागरिक तहमा असन्तोष बढाएको छ। यही असन्तोषको अभिव्यक्तिका रूपमा पछिल्लो समय ‘जेन–जी आन्दोलन’ उदाएको छ, जसले नेपाली राजनीतिमा नयाँ बहस र चेतनाको तरंग ल्याएको छ।
जेन–जी आन्दोलन केवल आक्रोशको विस्फोट मात्र होइन। यो वर्तमान शासन प्रणाली, राजनीतिक संस्कार र नेतृत्वप्रति उठाइएको सचेत प्रश्न हो। सडकमा उत्रिएका युवाहरूले देखाएका नारा र आवाजले नयाँ पुस्ता राजनीतिप्रति उदासीन छ भन्ने पुरानो धारणा तोडिदिएको छ। उनीहरू अब केवल दर्शक बन्न चाहँदैनन्, निर्णय प्रक्रियामा सहभागी हुन चाहन्छन् भन्ने सन्देश यो आन्दोलनले दिएको छ।

विशेषगरी युवापुस्ताले शिक्षा, रोजगारी, सुशासन र भविष्यप्रतिको अनिश्चितताबारे खुलेर प्रश्न उठाइरहेका छन्। उनीहरूको माग स्पष्ट छ—व्यवस्था होइन, व्यवहार बदलिनुपर्छ। यही चेतनाले आन्दोलनलाई केवल सडकमा सीमित नराखी लोकतान्त्रिक प्रक्रियासँग जोड्ने बहस अघि बढाएको छ।

अब प्रश्न उठ्छ—जेन–जीको यो आवाजको गन्तव्य के हो ? यसको उत्तर आउँदो निर्वाचनसँग जोडिएको छ। चुनाव केवल राजनीतिक दलहरूको प्रतिस्पर्धा मात्र होइन, युवापुस्ताको सोच, अपेक्षा र विकल्पको परीक्षा पनि हो। आक्रोश, असन्तुष्टि र चेतनालाई मतमार्फत अभिव्यक्त गर्न सकिने सबैभन्दा वैधानिक र शक्तिशाली माध्यम नै निर्वाचन हो।

युवाहरूले सडकमा व्यक्त गरेको असन्तोष मतपेटिकासम्म पुग्न सक्छ कि सक्दैन त्यो समयले बताउने छ । लोकतान्त्रिक प्रणालीभित्र रहेर सचेत निर्णय लिनु नै अहिलेको आवश्यकता हो। यही कारण, जेन–जी आन्दोलनलाई शान्तिपूर्ण, लोकतान्त्रिक दिशातर्फ उन्मुख गरिनु अपरिहार्य छ ।

देशको भविष्य लेखिने यो निर्णायक घडीमा जेन–जीको आन्दोलन सार्थक हुन्छ या त पुरानै राजनीति हाबी हुन्छ यो महत्वपूर्ण वहसको विषय बनेको छ। यो निर्वाचनले सहि व्यक्तिलाई निर्वाचित गरेर नयाँ नेपालको सुरुवात गर्छ, या त पुरानै राजनीतिक खेलको हावि हुन्छ त्यसको परिणामको लागि
सबै नेपाली निर्वाचनको प्रतिक्षामा छन् ।

 

सम्बन्धित समाचारसबै