१२ वर्षपछि फेरि एमएच–३७०को खोजी, हिन्द महासागरमा नयाँ प्रयास

0 Shares

काठमाडौं । करिब १२ वर्षअघि रहस्यमय रूपमा बेपत्ता भएको मलेसिया एयरलाइन्सको उडान एमएच–३७० विमानको खोजी कार्य पुनः सुरु हुन लागेको छ। मलेसियाको यातायात मन्त्रालयका अनुसार डिसेम्बर ३० देखि हराइरहेको विमानको खोजी फेरि अघि बढाइनेछ।

अमेरिकी रोबोटिक कम्पनी ओसन इन्फिनिटी ले यस खोजी कार्यको नेतृत्व गर्नेछ। कम्पनीले करिब ५५ दिनसम्म समुद्रको सतह र गहिराइमा खोजी सञ्चालन गर्ने जनाएको छ। यसपटक खोजी सम्भावना उच्च ठानिएका क्षेत्रहरूमा केन्द्रित हुने भनिए पनि ती स्थानहरू सार्वजनिक गरिएको छैन।

एमएच–३७० सन् २०१४ मार्च ८ मा क्वालालम्पुरबाट बेइजिङतर्फ उडेको केही समयमै आफ्नो निर्धारित मार्गबाट विचलित भई हवाई ट्राफिक राडारबाट सम्पर्कविहीन भएको थियो। विमानमा १२ जना चालक दलसहित २२७ यात्रु सवार थिए, जसमा चिनियाँ नागरिकको संख्या सबैभन्दा बढी थियो।

यात्रुहरूमा मलेसियाली, अस्ट्रेलियाली, इन्डोनेसियाली, भारतीय, फ्रान्सेली, अमेरिकी, इरानी, युक्रेनी, क्यानाडाली, न्यूजिल्याण्ड, नेदरल्याण्ड, रूसी र ताइवानी नागरिकसमेत रहेका थिए।

यो घटना उड्डयन इतिहासकै सबैभन्दा जटिल र रहस्यमय दुर्घटनामध्ये एक मानिन्छ। विगतका वर्षहरूमा हिन्द महासागरको विशाल क्षेत्रमा बहुराष्ट्रिय तथा निजी पहलमार्फत खोजी भए पनि विमानको मुख्य भग्नावशेष पत्ता लाग्न सकेको छैन।

गत वर्ष मलेसियाले नयाँ ठोस प्रमाण फेला परेमा खोजी पुनः अघि बढाउने संकेत दिएको थियो। त्यसपछि १५ हजार वर्ग किलोमिटर क्षेत्रमा खोजी गर्न ओसन इन्फिनिटीसँग ‘नो–फाइन्ड, नो–फी’ सम्झौता गरिएको हो। सम्झौता अनुसार विमानको भग्नावशेष फेला परेमा मात्र कम्पनीलाई ७ करोड अमेरिकी डलर भुक्तानी गरिनेछ।

यसअघि खराब मौसमका कारण अप्रिल महिनामा खोजी रोकिएको थियो। अब मौसम अनुकूल भएसँगै सोही सम्झौता अन्तर्गत पुनः खोजी थालिन लागेको हो।

सम्बन्धित समाचारसबै