खालिदा जियाको निधन : बंगलादेशको सत्ता राजनीतिमा एउटा अध्याय समाप्त

0 Shares

काठमाडौं । बंगलादेशको राजनीतिमा चार दशकभन्दा लामो समयसम्म निर्णायक भूमिका खेलेकी पूर्व प्रधानमन्त्री तथा बंगलादेश नेशनलिस्ट पार्टी (बीएनपी)की अध्यक्ष बेगम खालिदा जियाको निधन भएको छ। ८० वर्षको उमेरमा मंगलबार बिहान स्थानीय समयअनुसार ६ बजे ढाकास्थित अस्पतालमा उपचारकै क्रममा उनको देहावसान भएको हो।

बीएनपीको मिडिया सेलले सामाजिक सञ्जालमार्फत खालिदा जियाको निधनको पुष्टि गरेको छ। पार्टीले सामाजिक सञ्जाल ‘एक्स’ मा जारी गरेको विज्ञप्तिमा “बीएनपीकी अध्यक्ष तथा पूर्व प्रधानमन्त्री बेगम खालिदा जियाको आज बिहान ६ बजे निधन भएको छ” भनेर उल्लेख गरिएको छ।

खालिदा जिया पछिल्ला केही महिनादेखि गम्भीर स्वास्थ्य समस्याबाट ग्रसित थिइन्। ढाकाको इभरकेयर अस्पतालमा उनको निरन्तर उपचार भइरहेको थियो। यसैबीच, उनका छोरा तारिक रहमान १७ वर्षपछि लण्डनबाट स्वदेश फर्किएको केही दिनमै आमाको निधन भएको खबर सार्वजनिक भएको हो।

राजनीतिक रूपमा खालिदा जियाको उदय पति जियाउर रहमानको हत्या पश्चात् भएको थियो। सन् १९८१ मा तत्कालीन राष्ट्रपति जियाउर रहमानको हत्या भएपछि उनले बीएनपीको नेतृत्व सम्हाल्दै राष्ट्रिय राजनीतिमा आफूलाई मजबुत रूपमा स्थापित गरिन्। सन् १९९१ मा उनी बंगलादेशकी पहिलो महिला प्रधानमन्त्री बनेकी थिइन्।

त्यसपछि सन् २००१ मा पुनः सत्तामा फर्किएकी खालिदाले सन् २००६ सम्म सरकारको नेतृत्व गरिन्। पछिल्ला वर्षहरूमा बीएनपीले लगातार तीन संसदीय निर्वाचन बहिष्कार गरेको थियो। यद्यपि, सन् २०२४ मा तत्कालीन प्रधानमन्त्री शेख हसिनाविरुद्ध सुरु भएको विद्यार्थी आन्दोलनप्रति खालिदा जियाले खुला समर्थन जनाएकी थिइन्।

खालिदा जियाको निधनसँगै बंगलादेशी राजनीतिले एउटा प्रभावशाली, विवादित तर निर्णायक पात्र गुमाएको छ। उनको योगदान, संघर्ष र राजनीतिक विरासतले बंगलादेशको समकालीन इतिहासमा दीर्घ प्रभाव छोड्ने निश्चित देखिन्छ।

सम्बन्धित समाचारसबै