काठमाडौँ। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै समानुपातिक प्रणालीअन्तर्गत उम्मेदवार बन्दसूची दर्ता गर्ने प्रक्रिया अन्तिम चरणमा पुगेको छ। निर्वाचन आयोगमा हालसम्म ६३ वटा राजनीतिक दलले आफ्नो बन्दसूची बुझाइसकेका छन्।
आयोगका अनुसार नेकपा (एमाले), नेपाल कम्युनिस्ट पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टीजस्ता ठूला दलदेखि नेपाल मजदुर किसान पार्टी, राष्ट्रिय जनमोर्चा, जनता समाजवादी पार्टी नेपाल, समावेशी समाजवादी पार्टीलगायत विभिन्न साना तथा क्षेत्रीय दलहरूले समेत समानुपातिकतर्फको सूची दर्ता गराएका छन्। यससँगै नागरिक शक्ति नेपाल, राष्ट्रिय जनमुक्ति पार्टी, मंगोल नेशनल अर्गनाइजेशन, उन्नत लोकतन्त्र पार्टीलगायत अन्य दलहरूको सहभागिताले निर्वाचनको प्रतिस्पर्धालाई अझ व्यापक बनाएको छ।
तर, प्रमुख दल नेपाली कांग्रेसको बन्दसूची भने अझै आयोगमा दर्ता हुन सकेको छैन। पार्टी सभापति शेरबहादुर देउवाको हस्ताक्षरका लागि महाराजगन्ज पुगेका कांग्रेस मुख्यसचिव कृष्ण पौडेल र प्रचार विभाग प्रमुख मीन विश्वकर्मा आयोग फर्किन बाँकी रहेकाले सूची बुझाउन ढिलाइ भएको बताइएको छ। कांग्रेसले सूची बुझाएपछि समानुपातिकतर्फ बन्दसूची पेश गर्ने दलको संख्या ६४ पुग्नेछ।
यद्यपि समानुपातिकतर्फ ६४ दलले उम्मेदवारी दिए पनि निर्वाचन आयोगले हालसम्म ५८ वटा दललाई मात्र छुट्टाछुट्टै चुनाव चिह्न प्रदान गरेको जनाएको छ। केही दल संयुक्त चुनाव चिह्न प्रयोग गर्दै निर्वाचनमा सहभागी हुने तयारीमा रहेका छन्।







