काठमाडौं। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तर्गत निर्वाचन आयोगले मतपत्र छपाइ प्रक्रिया औपचारिक रूपमा अघि बढाएको छ। आयोगका अनुसार पहिलो चरणमा समानुपातिक प्रणालीतर्फका मतपत्र छापिनेछन् भने त्यसपछि प्रत्यक्षतर्फका मतपत्र छापिनेछन्।
मतपत्र छपाइ भक्तपुरको सानोठिमीस्थित जनक शिक्षा सामग्री केन्द्रको छापाखानामा हुनेछ। आयोगले यसअघि नै पुस १६ गतेदेखि मतपत्र छाप्ने कार्यतालिका तय गरिसकेको थियो।
निर्वाचन आयोगका सहायक प्रवक्ता कुलबहादुर जीसीका अनुसार समानुपातिकतर्फ सहभागी हुने राजनीतिक दल र उनीहरूको निर्वाचन चिह्न अन्तिम रूप पाइसकेकाले सुरुमा यही तर्फको मतपत्र छपाइ गर्न लागिएको हो। “५८ वटा दल र ६४ वटा चुनाव चिह्न निश्चित भइसकेकाले समानुपातिकको मतपत्र पहिला छापिन्छ,” उनले बताए।
आयोगका अनुसार प्रतिनिधिसभा निर्वाचनका लागि कुल १ करोड ९० लाख ५ हजार ३२४ मतदाता नामावली संकलन तथा अद्यावधिक गरिएको छ। समानुपातिक प्रणालीतर्फ भने कुल मतदाताको १० प्रतिशत अतिरिक्त मतपत्र छाप्ने नीति आयोगले लिएको छ।
समानुपातिकतर्फका मतपत्र छाप्न करिब २० देखि ३० दिन लाग्ने अनुमान गरिएको छ। यो प्रक्रिया सम्पन्न भएपछि मात्र प्रत्यक्ष निर्वाचन प्रणालीतर्फका मतपत्र छपाइ सुरु हुनेछ।
प्रत्यक्षतर्फका मतपत्र भने हरेक निर्वाचन क्षेत्र अनुसार फरक–फरक हुनेछन्। निर्वाचन क्षेत्रअनुसार दलहरूको सहभागिता र चुनाव चिह्न भिन्न हुने भएकाले सोही अनुरूप मतपत्र तयार गर्नुपर्ने सहायक प्रवक्ता जीसीले जानकारी दिए। उनका अनुसार प्रत्यक्षतर्फको मतपत्र छपाइ उम्मेदवारको अन्तिम नामावली प्रकाशन भएपछि मात्र सुरु गरिनेछ।