टुँडिखेलको ल्होसार समारोहमा प्रधानमन्त्री कार्की, सांस्कृतिक विविधतामा जोड

0 Shares

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्की टुँडिखेलमा तमु ल्होसारको अवसरमा आयोजित विशेष समारोहमा सहभागी भएकी छन्। तमु हिल छोजदी गुरुङ राष्ट्रिय परिषद्को आयोजनामा भएको कार्यक्रममा प्रधानमन्त्री कार्कीको उपस्थितिले उत्सवलाई थप उल्लासमय बनाएको थियो।

समारोहका क्रममा आयोजकले प्रधानमन्त्रीलाई गुरुङ समुदायको परम्परागत पहिरन लगाइदिएका थिए। साथै, तमु कलाकार संघले गुरुङ पोशाकमा प्रधानमन्त्रीको आकृतिसहितको कार्टुन उपहार प्रदान गरेका थिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीले नेपालको सांस्कृतिक विविधतालाई राष्ट्रिय गौरवको विषय बताइन्। “विविधता नै हाम्रो ठूलो शक्ति हो,” उनले भनिन्, “तमु ल्होसारजस्ता पर्वहरूले मौलिक पहिचानको संरक्षण गर्दै आपसी सद्भाव, सहिष्णुता र एकताको भावना अझ सुदृढ बनाउँछन्।”

घोडा वर्गको नयाँ वर्ष मनाइँदै गरेको सन्दर्भ उल्लेख गर्दै प्रधानमन्त्रीले घोडालाई शक्ति, साहस, गति र कर्मठपनाको प्रतीकका रूपमा व्याख्या गरिन्। उनले यही सकारात्मक ऊर्जा आत्मसात् गर्दै देशको समुन्नति र समृद्धिको यात्रामा तीव्र गतिमा अघि बढ्न सबैलाई आह्वान गरिन्।

प्रधानमन्त्री कार्कीले नेपाली समाजको अर्को सुन्दर पक्ष भनेकै जस्तोसुकै चुनौती र कठिन परिस्थितिमा पनि एकआपसमा हातेमालो गर्दै समाधान खोज्ने क्षमता रहेको बताइन्। पछिल्ला दिनमा देखिएका परिस्थितिबाट पाठ सिक्दै शान्तिपूर्ण, संविधानसम्मत र लोकतान्त्रिक मार्गमार्फत युवाहरूको चाहनाअनुसार देश निर्माण गर्ने दिशामा मुलुक अघि बढिरहेको पनि उनले स्पष्ट पारिन्।

सम्बन्धित समाचारसबै