विराटनगर। नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले आगामी राष्ट्रिय निर्वाचनको तयारीका लागि पार्टीभित्रको आपसी मतभिन्नता र व्यक्तिगत महत्वाकांक्षालाई पछाडि पार्नुपर्ने बताएका छन्। उनी राष्ट्रिय एकता र मेलमिलाप दिवसको अवसरमा शुभकामना सन्देशमार्फत देशको सार्वभौमसत्ता, राष्ट्रिय अखण्डता र स्वतन्त्रताको रक्षा गर्न मेलमिलाप नीति नै बलियो आधार भएको बताए।
कोइरालाले तत्कालीन समयमा विश्वका महाशक्ति राष्ट्रहरूबीचको द्वन्द्वबाट नेपालको अस्तित्व जोगाउन बीपी कोइरालाले लिएको राष्ट्रिय एकता र मेलमिलाप नीति अहिले पनि सान्दर्भिक रहेको उल्लेख गरे। उनका अनुसार, “आज पाँच दशकपछि फेरि विश्वमा महाशक्ति राष्ट्रहरूको दबाब र स्वार्थहरू देखिएका छन्। यस परिस्थितिमा बीपीको विचारलाई मन, वचन र कर्मले मनन गर्नु हाम्रो जिम्मेवारी हो।”
नेता कोइरालाले कांग्रेसभित्रको एकतालाई राष्ट्रिय मेलमिलापको पहिलो खड्गो भन्दै, यो केवल पार्टीको नभई सम्पूर्ण नेपालीहरूको साझा एजेण्डा बन्नुपर्नेमा जोड दिए। उनले सत्तासिनको लुछाचुँडीभन्दा माथि उठेर सार्वभौम नेपालीहरूको सतर्कता र ऐक्यबद्धता आवश्यक रहेको तर्क गरे।