विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले मुलुकको वर्तमान सुरक्षा अवस्था र भदौ २३–२४ गते भएका हिंसात्मक घटनासँग सम्बन्धित छानबिन आयोगको निष्पक्षतामा प्रश्न उठाएका छन्। १४ जिल्लाका सुरक्षा निकाय र केन्द्रीय सुरक्षा नेतृत्व सहभागी गोष्ठीमा बोल्दै उनले घटनापछि सुरक्षा संयन्त्र विफल भएको गम्भीर चिन्ता व्यक्त गरे।
मुख्यमन्त्री कार्कीले भने, “देशभर हिंसात्मक घटना हुँदा पनि सुरक्षा निकाय र गुप्तचर संयन्त्रले पूर्वसूचना पाउन सकेन। मेचीदेखि महाकालीसम्म एउटै प्रकारको घटनाहरू हुनु सुरक्षा संरचनाको कमजोरीलाई देखाउँछ।”
आयोगको नेतृत्वप्रति आपत्ति व्यक्त गर्दै उनले आयोगका अध्यक्ष गौरीबहादुर कार्की घटनाका दिन विवादित भूमिकामा रहेको दाबी गरे। उनले भने, “जस व्यक्तिले घटनाको समयमा विवादित भूमिका खेलेको थियो, त्यसैको नेतृत्वमा आयोगले निष्पक्ष छानबिन गर्न सक्दैन। प्राकृतिक न्यायको दृष्टिले पनि यस्तो नियुक्ति स्वीकार्य छैन।” यसै कारण नेकपा (एमाले) र अध्यक्ष केपी शर्मा ओलीले आयोगलाई बयान नदिने निर्णय गरेका छन्।
मुख्यमन्त्री कार्कीले सुरक्षा चुनौती र आगामी निर्वाचनको स्थिति ‘आउट अफ कन्ट्रोल’ रहेको बताए। फरार कैदीबन्दी, बरामद नभएका हतियार र गोलीगठ्ठाले निष्पक्ष निर्वाचनको चुनौती बढाएको उनको भनाइ थियो।
उनले नेपालको इतिहासमा विद्रोह र अशान्तिका घटनाहरू सरकारको नियन्त्रणमा रहँदै आएका भए पनि हालको घटना त्यस दायराबाट बाहिर गएको टिप्पणी गरे। कानुनसँग जोडिएका प्रधानमन्त्री र गृहमन्त्रीले तत्काल सुधार गर्नुपर्ने उनले जोड दिए। यदि यस्ता कमजोरीहरू सुधारिएनन् भने देश दीर्घकालीन रूपमा थप जटिल परिस्थितिमा पुग्ने चेतावनी मुख्यमन्त्री कार्कीले दिए।