सशस्त्र प्रहरीले चलाएको गोली लागि एक जना सिटी सफारी चालकको मृत्यु

0 Shares

विराटनगर । सुनसरीको कोशी गाउँपालिका–१ मा सशस्त्र प्रहरीले चलाएको गोली लागेर एक जना सिटी सफारी चालकको मृत्यु भएको छ। तस्करी नियन्त्रणका लागि खटिएको सशस्त्र प्रहरी बल (एपीएफ)को गोलीबाट स्थानीय ४५ वर्षीय विजय साहको ज्यान गएको हो।

घटना बिहीबार बिहान करिब १ बजेर १० मिनेटतिर कोशी गाउँपालिका–१ को पुरी टोलमा भएको सुनसरी प्रहरीले जनाएको छ। प्रहरीका अनुसार साह सोही वडाका स्थायी बासिन्दा हुन्।

साहले आफ्नो सिटी सफारीमा भारतबाट नेपालतर्फ ८ देखि १० बोरा चिनी ल्याउँदै गरेको अवस्थामा गस्तीमा रहेको सशस्त्र प्रहरी टोलीसँग भेट भएको थियो। मालसामान ओसारपसारको विषयमा प्रहरी र साहबीच विवाद उत्पन्न भएपछि स्थिति तनावग्रस्त बनेको बताइएको छ। सोही क्रममा प्रहरीले गोली चलाउँदा साहको घटनास्थलमै मृत्यु भएको प्रारम्भिक जानकारी छ।

घटनापछि स्थानीयवासी आक्रोशित बनेका छन्। मृतकको शव उठाउन उनीहरूले अवरोध गरेपछि स्थिति नियन्त्रणमा लिन प्रहरी र स्थानीयबीच छलफल भइरहेको सुनसरी प्रहरी प्रवक्ता डीएसपी चन्द्रबहादुर खड्काले जानकारी दिए।

सम्बन्धित समाचारसबै