काठमाडौं । नेपाली मौलिक पहिचान, संस्कृति र गौरवको प्रतीकका रूपमा रहेको राष्ट्रिय पोसाकको संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यसहित आज १३ औँ राष्ट्रिय पोसाक तथा टोपी दिवस देशभर विविध कार्यक्रमका साथ मनाइँदै छ।
‘नेपाली टोपीः हाम्रो पहिचान’ भन्ने मूल नाराका साथ विगत १३ वर्षदेखि युवाहरूको सक्रिय पहलमा यो दिवस मनाउन थालिएको हो। नेपाली समाजको मौलिक पहिचान झल्काउने दौरा–सुरुवाल, ढाका टोपी तथा गुन्यु–चोलीलाई विशेषगरी नयाँ पुस्तामाझ लोकप्रिय र स्थापित गराउने उद्देश्यले विसं २०७० देखि राष्ट्रिय पोसाक तथा टोपी दिवसको सुरुआत गरिएको थियो।
दिवसको अवसरमा आज देशभरका युवायुवतीहरूले राष्ट्रिय पोसाकमा सजिएका आफ्ना तस्बिर सामाजिक सञ्जालमार्फत् साझा गर्दै नेपाली पहिचानप्रति गर्व व्यक्त गरिरहेका छन्। प्रत्येक वर्ष जनवरी १ तारिखका दिन मनाइँदै आएको यो दिवसले पछिल्ला वर्षहरूमा राष्ट्रिय पोसाकप्रतिको चेतना र आकर्षण बढाउन महत्वपूर्ण भूमिका खेलेको बताइन्छ।
औपचारिक रूपमा राष्ट्रिय पोसाक प्रयोग गर्ने परम्परा कमजोर बन्दै गएपछि त्यसको संरक्षण र पुनर्जागरणका लागि युवाहरूले स्वस्फूर्त रूपमा यो अभियान सुरु गरेका हुन्। अहिले यो अभियान एक दिवसमा सीमित नरही सांस्कृतिक चेतनाको अभियानका रूपमा स्थापित हुँदै गएको देखिन्छ।
दिवसको सन्दर्भमा आज राजधानी काठमाडौंका विभिन्न स्थानमा विशेष कार्यक्रमहरू आयोजना गरिएको छ। वसन्तपुर दरबार क्षेत्र लगायतका स्थानमा राष्ट्रिय पोसाक र ढाका टोपीसहित युवायुवतीहरूको उल्लेखनीय सहभागितामा सांस्कृतिक झल्को दिने कार्यक्रमहरू सम्पन्न भएका छन्।