आजदेखि इस्वी संवत् २०२६ सुरु, विश्वभर शुभकामनाको आदान–प्रदान

0 Shares

काठमाडौं । ग्रेगोरियन पात्रोअनुसार आजदेखि इस्वी संवत् सन् २०२६ औपचारिक रूपमा सुरु भएको छ। येशु ख्रिस्टको जन्म वर्षलाई आधार मानेर पादरी ग्रेगोरियनले सुरु गरेको यो पात्रो ‘ग्रेगोरियन पात्रो’का नामले चिनिन्छ। यस पात्रोअनुसार चाडपर्व मान्ने समुदायले आज एकअर्कामा शुभकामना आदान–प्रदान गर्दै नयाँ वर्षको स्वागत गरेका छन्।

ग्रेगोरियन पात्रो सौरमासको आधारमा निर्माण गरिएको मानिन्छ। यही कारणले केही अध्येताहरूले यसलाई पूर्ण रूपमा वैज्ञानिक नभएको भन्दै आलोचना गर्ने गरेका छन्। सौरमास र चन्द्रमासको समन्वयमा आधारित विसं जति वैज्ञानिक नभए पनि इस्वी संवत् पछिल्ला वर्षहरूमा विश्वव्यापी रूपमा प्रभावशाली बन्दै गएको विभिन्न संवत्को अध्ययन–अनुसन्धानमा संलग्न डा. शास्त्रदत्त पन्त बताउनुहुन्छ।

उनका अनुसार एक वर्ष ३६५ दिन ६ घण्टा ४९ मिनेट ६ सेकेन्डको हुन्छ। तर दिनभन्दा साना एकाइहरूलाई व्यवहारिक गणनामा समेट्न कठिन हुने भएकाले ती सामान्यतया उल्लेख गरिँदैनन्। यही समयान्तर व्यवस्थापन गर्न विसंमा तीन वर्षमा अधिकमासको व्यवस्था गरिएको छ।

इस्वी संवत्मा भने ‘लिप इयर’को अवधारणामार्फत समयको सन्तुलन मिलाउने प्रयास गरिँदै आए पनि यस विषयमा पश्चिमा मुलुकहरूबीच समेत पूर्ण मतैक्यता कायम हुन नसकेको डा. पन्तको भनाइ छ।

पछिल्लो समय नेपालमा पनि अङ्ग्रेजी नयाँ वर्षलाई उत्साहका साथ मनाउने चलन उल्लेख्य रूपमा बढ्दै गएको छ। नयाँ वर्ष २०२६ को अवसरमा विदेशी पर्यटकको बाक्लो उपस्थिति रहने काठमाडौंको ठमेल र बौद्ध क्षेत्र, उपत्यका बाहिरका पोखरा, सौराहा लगायतका पर्यटकीय गन्तव्यहरूमा विविध सांस्कृतिक तथा मनोरञ्जनात्मक कार्यक्रम आयोजना गरी नयाँ वर्षको स्वागत गरिएको छ।

सम्बन्धित समाचारसबै