निधिसभा निर्वाचनको तयारी तीव्र, ४० संस्था पर्यवेक्षणका लागि स्वीकृत

0 Shares

काठमाडौँ । आगामी २०८२ फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै निर्वाचन आयोगले तयारी प्रक्रियालाई तीव्र बनाएको छ। यसैक्रममा आयोगले निर्वाचनको अनुगमन र पर्यवेक्षणका लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गरी ४० वटा संस्थालाई औपचारिक अनुमति प्रदान गरेको छ।

निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार अनुमति पाउने संस्थामध्ये ३६ वटा स्वदेशी र ४ वटा विदेशी रहेका छन्। बुधबार मात्र आयोगले थप ९ वटा संस्थालाई पर्यवेक्षणको स्वीकृति दिएको हो। तीमध्ये नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल चेम्बर अफ कमर्स, नाडा अटोमोबाइल्स एशोसिएसन र नेपाल कानुन समाजजस्ता प्रतिष्ठित संस्थाहरू पनि रहेका छन्।

यसैबीच निर्वाचनको समानुपातिक प्रणाली अन्तर्गतका प्रक्रियाहरू पनि अगाडि बढेका छन्। राजनीतिक दलहरूले पेश गरेका उम्मेदवारहरूको बन्दसूचीमाथि आयोगले हाल छानबिन गरिरहेको छ। यदि उम्मेदवारको क्लस्टर नमिलेको खण्डमा दलहरूले आगामी पुस २७ गतेसम्म संशोधन गर्न सक्नेछन्। उम्मेदवारी फिर्ताका लागि पुस २८ गतेको समय तोकिएको छ।

कुनै उम्मेदवारले नाम फिर्ता लिएमा सोही समूहबाट अर्को उम्मेदवार चयन गरी पुस ३० गतेभित्र आयोगमा पेश गर्नुपर्ने व्यवस्था गरिएको छ। आयोगको कार्यतालिका अनुसार आगामी माघ ४ गते उम्मेदवारहरूको प्रारम्भिक बन्दसूची सार्वजनिक हुनेछ। सो सूचीमा समावेश उम्मेदवारहरूको योग्यतामाथि दाबी–विरोध गर्न माघ ५ देखि १० गतेसम्म समय दिइनेछ।

प्राप्त उजुरीहरूमाथि आवश्यक जाँचबुझपछि आयोगले माघ २० गते उम्मेदवारहरूको अन्तिम बन्दसूची सार्वजनिक गर्ने जनाएको छ। निर्वाचनको मतदान भने फागुन २१ गते बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म सञ्चालन हुनेछ।

यसका साथै आयोगले अनुमति प्राप्त संस्थाहरूलाई अभिमुखीकरण गराउने र पर्यवेक्षकहरूलाई परिचयपत्र वितरण गर्ने तयारी पनि अघि बढाएको छ।

सम्बन्धित समाचारसबै