विराटनगर । मोरङको ग्रामथान गाउँपालिकामा अध्यक्ष नमोनारायण माझी र उपाध्यक्ष गुणवतीदेवी थारुबीचको शक्ति संघर्षले बिहीबार उग्र रूप लिँदा पालिका कार्यालय परिसर दिनभर तनावग्रस्त बन्यो। विवादका कारण सेवा प्रवाह अवरुद्ध भएपछि स्थानीयवासी आक्रोशित बनेका थिए।
अध्यक्षले एकलौटी रूपमा निर्णय गर्दै आएको आरोप लगाउँदै उपाध्यक्ष थारुले बुधबार पालिकाको लेखा शाखामा तालाबन्दी गरेकी थिइन्। सो तालाबन्दी खुलाउन पुगेका अध्यक्ष समर्थक र केही स्थानीयले बिहीबार जबर्जस्ती ताला फुटाएपछि स्थिति नियन्त्रण बाहिर गएको हो। ताला फुटाउने क्रममा दुवै पक्षबीच भनाभन र हातहालाहालसमेत भएको थियो।
उपाध्यक्ष थारुले गाउँसभा प्रक्रिया एकलौटी रूपमा सञ्चालन गरिएको र बजेट पुस्तिकामा आफ्नो भूमिका नै बेवास्ता गरिएको आरोप लगाइन्। “बजेट पुस्तिकामा अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतको मात्र मन्तव्य राखिएको छ, उपाध्यक्षको मन्तव्य किन हटाइयो?” भन्दै उनले प्रश्न उठाइन्।
यता, गत मंसिरमा नेकपा माओवादी केन्द्रबाट निर्वाचित अध्यक्ष माझीले भने कार्यपालिकामा एमालेको बहुमत रहेकाले आफूलाई योजनाबद्ध रूपमा घेराबन्दी गरिएको दाबी गरे। उपाध्यक्ष र एमाले निकटका जनप्रतिनिधिले काम गर्न नदिने नियतले बारम्बार अवरोध सिर्जना गरेको उनको आरोप छ।
अध्यक्ष–उपाध्यक्षबीचको टकराव यसअघि पनि सार्वजनिक भइसकेको छ। गत पुस ९ गते विराटनगरको मुख्य सडकमा अध्यक्षले प्रयोग गरिरहेको गाडीको साँचो उपाध्यक्षले खोसेपछि दुवैबीच चर्को विवाद भएको थियो।
बिहीबार ताला फुटाउन पुगेका व्यक्तिहरूले आफूहरू राजनीतिक कार्यकर्ता नभई पालिकाको सेवा ठप्प हुँदा मर्कामा परेका स्थानीय भएको दाबी गरेका छन्। स्थिति थप बिग्रन नदिन ठूलो संख्यामा प्रहरी परिचालन गरिएको थियो। केही समयको तनाव र प्रदर्शनपछि दिउँसो करिब १ बजे लेखा शाखाको ताला खुलेको हो।
जनप्रतिनिधिहरूबीचको व्यक्तिगत र राजनीतिक टकरावले ग्रामथान गाउँपालिकाको प्रशासनिक कामकाज र विकास निर्माणका गतिविधि गम्भीर रूपमा प्रभावित बन्दै गएका छन्।