काठमाडौं । नेपाली कांग्रेसको नियमित महाधिवेशनलाई लिएर लामो समयदेखि देखिँदै आएको अन्योल अब खुला राजनीतिक बहसमा रूपान्तरित भएको छ। पार्टीका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले नियमित महाधिवेशन सम्भव नभएको निष्कर्ष निकाल्दै विशेष महाधिवेशनको प्रस्ताव अघि सारेपछि कांग्रेसभित्र तरंग पैदा भएको हो।
बिहीबार साँझ संयुक्त वक्तव्य जारी गर्दै महामन्त्रीद्वयले संगठनको अवस्था, समय अभाव र समसामयिक राजनीतिक आवश्यकतालाई आधार मानेर नियमित महाधिवेशन तत्काल गर्न नसकिने जनाएका थिए। उनीहरूको यो घोषणाले पार्टी नेतृत्वको भूमिकामाथि प्रश्न उठ्नुका साथै कांग्रेसभित्र मतभेद सतहमा आएको छ।
घोषणा सार्वजनिक भएपछि पार्टी सभापति शेरबहादुर देउवाले कार्यवाहक सभापति पूर्णबहादुर खड्का र नेता रमेश लेखकसँग आन्तरिक छलफल गरेका छन्। स्रोतका अनुसार देउवाले महामन्त्रीद्वयको कदमले पार्टीमा पार्न सक्ने राजनीतिक प्रभाव, विधानको व्याख्या र आगामी रणनीतिबारे सुझाव लिएका हुन्।
कांग्रेसको पछिल्लो महाधिवेशनपछि तोकिएको समयसीमाभित्र अर्को नियमित महाधिवेशन हुन नसक्ने संकेत यसअघि नै देखिँदै आएको थियो। सरकार सञ्चालन, गठबन्धनको दबाब र आन्तरिक व्यवस्थापनका चुनौतीका कारण महाधिवेशन तयारी कमजोर बनेको भन्दै पार्टीभित्र आलोचना हुँदै आएको छ।
महामन्त्रीद्वयको प्रस्तावलाई कतिपय नेताहरूले यथार्थमा आधारित निर्णयका रूपमा स्वागत गरेका छन् भने केही नेताहरूले सभापतिसँग परामर्श नगरी गरिएको कदम भन्दै असन्तुष्टि जनाएका छन्। यस घटनाक्रमसँगै कांग्रेसभित्र नेतृत्वको शैली, विधानको पालना र निर्णय प्रक्रियाबारे बहस झनै चर्किएको छ।