काठमाण्डौ। जेनजी आन्दोलनका क्रममा भएको भौतिक तथा अन्य क्षतिबापत निर्जीवन बीमा कम्पनीहरूले बीमितलाई हालसम्म ५ अर्ब ४८ करोड रुपैयाँभन्दा बढी दाबी रकम भुक्तानी गरेका छन्।
नेपाल बीमा प्राधिकरणका अनुसार आन्दोलनका क्रममा परेका कूल ३ हजार ३ सय १६ वटा बीमा दाबीमध्ये करिब २३ अर्ब ४७ करोड रुपैयाँ बराबरको दाबी परेको थियो। ती दाबीमध्ये अग्रिम भुक्तानीसमेत गरी अहिलेसम्म ५ अर्ब ४८ करोड २५ लाख रुपैयाँ बीमितलाई वितरण भइसकेको छ।
प्राधिकरणमा १४ वटा निर्जीवन बीमा कम्पनी र ४ वटा लघु निर्जीवन बीमा कम्पनीबाट प्राप्त विवरणअनुसार, सम्पत्ति बीमातर्फ ७ सय १२ वटा दाबीबाट करिब १९ अर्ब ५ करोड रुपैयाँ बराबरको क्षति मूल्याङ्कन गरिएको छ। तीमध्ये करिब ३ अर्ब ९३ करोड ५९ लाख रुपैयाँ भुक्तानी भइसकेको छ।
यस्तै, मोटर बीमातर्फ २ हजार ३ सय २१ वटा दाबी दर्ता भएका छन्, जसअन्तर्गत करिब ३ अर्ब ४६ करोड १६ लाख रुपैयाँ दाबी रकममध्ये १ अर्ब ३९ करोड २५ लाख रुपैयाँ बीमितलाई भुक्तानी गरिएको छ।
जेनजी आन्दोलनका कारण भएका क्षतिको दाबी भुक्तानीलाई सहज बनाउन नेपाल पुनर्बीमा कम्पनीले निर्जीवन बीमा कम्पनीहरूलाई अग्रिम भुक्तानीसहित करिब ३ अर्ब २ करोड रुपैयाँ बराबरको पुनर्बीमा दाबी भुक्तानी गरेको प्राधिकरणले जनाएको छ।
प्राधिकरणका अनुसार नेपाल पुनर्बीमा कम्पनीमा १४ वटा निर्जीवन बीमा कम्पनीबाट २ हजार ८ सय ६३ वटा पुनर्बीमा दाबी परेका छन्। ती दाबीहरूको कूल पूर्णबिमा रकम करिब १६ अर्ब ६२ करोड ६६ लाख रुपैयाँ रहेको छ।
हाल बाँकी दाबीहरूको प्रक्रिया जारी रहेको र क्षति मूल्याङ्कनका आधारमा थप भुक्तानी हुने प्राधिकरणले जनाएको छ।