निर्वाचन आयोगद्वारा समानुपातिक उम्मेदवार संशोधनको कार्यतालिका सार्वजनिक

0 Shares

काठमाडौँ । निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक प्रणालीतर्फ राजनीतिक दलहरूले पेस गरेका उम्मेदवारको बन्दसूची संशोधन गर्ने समय पुस २१ देखि २७ गतेसम्म तोकेको छ।

आयोगका अनुसार दलहरूले पुस १३ र १४ गते समानुपातिक उम्मेदवारको बन्दसूची आयोगमा बुझाइसकेका छन्। ती बन्दसूचीको प्रारम्भिक छानबिनपछि आवश्यक सच्याउन पुस १५ गते दलहरूलाई औपचारिक जानकारी गराइएको थियो।

आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले सात दिनको संशोधन अवधिमा बन्दसूचीमा रहेका उम्मेदवारले आफ्नो नाम फिर्ता लिन चाहेमा निवेदन दिन सक्ने जानकारी दिएका छन् । नाम फिर्ता लिन चाहनेले पुस २८ गते निवेदन दिनुपर्नेछ।

पुस २९ गते आयोगले फिर्ता भएका नामहरूको विवरण सम्बन्धित दलहरूलाई जानकारी गराउनेछ। फिर्ता भएका नामको स्थानमा सोही समूहअन्तर्गत अन्य उम्मेदवार मनोनीत गरी पुस ३० गतेभित्र आयोगमा नामावली पेस गर्न सकिने आयोगले जनाएको छ।

आयोगको कार्यतालिकाअनुसार माघ ४ गते समानुपातिक उम्मेदवारको प्रारम्भिक नामावली सार्वजनिक गरिनेछ। त्यसपछि माघ ५ देखि १० गतेसम्म बन्दसूचीमा समावेश उम्मेदवारको योग्यतासम्बन्धी दाबी–विरोध दर्ता गर्न सकिनेछ।

प्राप्त उजुरीमाथि माघ ११ देखि १७ गतेसम्म छानबिन गरी निर्णय लिइनेछ। माघ १९ गते बन्दसूचीबाट हटाइएका उम्मेदवारको सूचना प्रकाशित गरिनेछ भने माघ २० गते समानुपातिक उम्मेदवारको अन्तिम नामावली सार्वजनिक गरिने आयोगले जनाएको छ।

सम्बन्धित समाचारसबै